पाँच वर्षमा यस क्षेत्रका जनताको मुहार फरिएको छ: बब्लू शुक्ला- अध्यक्ष सम्मरीमाई गाउँपालिका - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पाँच वर्षमा यस क्षेत्रका जनताको मुहार फरिएको छ: बब्लू शुक्ला- अध्यक्ष सम्मरीमाई गाउँपालिका



देश सङ्घीयतामा गएपछि स्थानीय सरकार बनेको पनि पाँच वर्ष पुरा हुँदैछ । गाउँगाउँमा शिंहदरबार पुगेर जनताले पाएका स्थानीय सरकारहरूको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले स्थानीय तहको चुनाव घोषणा गरेसँगै देश चुनावी माहोलमा होमिएको छ । गाउँदेखि सहरसम्म नेताहरू दौडधुपमा छन् ।

सङ्घीयताको विषयमा दुईथरी चर्चा र बहस भैरहेका बेला कतिपय स्थानीय सरकारहरूले जनतालाई महसुस हुनेगरी सेवा दिएका छन् भने कतिपय विवादित पनि बनेका छन् । तर अधिकांश स्थानीय सरकारले भने जनताका दुखमा मल्हमपट्टि गर्न सफल भएका छन् ।

स्थानीय सरकारको पहिलो कार्यकाल सकिनै लाग्दा हिमालपोस्टले केहि पालिका प्रमुखहरूसँग यसबारे जिज्ञासा राखेको थियो । यो पटक हामीले भारतको उत्तर प्रदेशसँग सीमाना जोडिएको रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र नाथ शुक्ल (बब्लु शुक्ला)सँग संवाद गरेका छौँ ।

प्रस्तुत छ बब्लू शुक्लासँग गरिएको संवाद:

  • स्थानीय तहको तपाईंको पहिलो अनुभव कस्तो रह्यो ?

एउटा जनताको सेवकको हिसावले भन्नुपर्दा मलाई मेरो अनुभव गज्जब रह्यो । पछाडी फर्केर हेर्दा जनताको सेवा गर्न पाएकोमा मलाई अत्यन्त खुसीको महसुस भएको छ । कति अपेक्षा थिए कति आकांक्षा थिए ति सबै पुरा गर्न नपाएपनि जनताको प्रत्यक्ष सेवा गर्न पाउँदा मेरो मेरो अनुभव गज्जब नै भयो ।

  • तपाईंको क्षेत्रका जनताको पाँच वर्ष पहिला र अहिलेको जनजीवनमा के फरक छ ?

मेरो क्षेत्र रुपन्देहीकै पिछडिएको क्षेत्र हो । यहाँबाट कैयौँ मन्त्री बने, नेता त कति छन् कति । केहि नेताहरू पटकपटक मन्त्री पनि बने तर उनीहरूले जनताको कहिल्लै वास्ता गरेनन् । सातपटक/आठपटक मन्त्री बनेपनि यो क्षेत्रमा विकासको अवस्था जिरोमै थियो । उनीहरूले आफ्नो घरअगाडिको गल्ली समेत बनाउन सकेनन । अरू थुप्रै मन्त्री बने, सांसद बने तर यहाँको लागि केहि गर्न सकेनन् ।

म निर्वाचित हुनु अगाडी यहाँको अवस्था दयनीय थियो । शिक्षा, स्वास्थ्य सडकको अवस्था बेहाल थियो । प्रदुषणको अवस्था भयावह थियो । खानेपानीको कारण जनताले निकै कष्ट भोगिरहेका थिए । तर पनि मैले यसलाई एउटा चुनौतीको रूपमा लिएँ । जनताले भारी मत दिएर जिताएपछि उनीहरूका लागि केहि न केहि गर्नुपर्छ भन्ने भयो ।

म निर्वाचित भएपछि यहाँको दयनीय अवस्थाको सडकलाई विशेष महत्व दिएको थिएँ । अहिले सडक, शिक्षा र स्वास्थ्यको अवस्था निकै सुध्रिएको छ ।

पहिले १२ बजे आउने शिक्षक अहिले समयमै आउँछन्, आधा घण्टा बसेर फर्किने शिक्षकले अहिले पुरै समय पढाउँछन् । समाज शिक्षित बनाउन हामीले धेरै मेहनत गरेका छौँ । पाँच वर्षमा साढे आठ करोड शिक्षा क्षेत्रमा खर्चिएका छौँ ।

स्वास्थ्यमा पनि यहाँ धेरै काम गरिएको छ । यहाँको मुख्य समस्या आँखाको भएकाले मैले साढे आठ करोड खर्च गरेर आँखा अस्पताल सुरू गरिएको छ । ३ वटा वर्थीङ सेन्टर बनाइएको छ । वर्थीङ सेन्टरहरू सफलतापूर्वक संचालनमा आइसकेका छन् । एउटा पनि एम्बुलेन्स पनि नभएको यो क्षेत्रमा अहिले २ वटा एम्बुलेन्स छन् ।

भैरहवाको रणअम्बिका आँखा अस्पताल र सांसद प्रमोद यादवजीको सहयोगमा स्वास्थ्य क्षेत्रमा राम्रो गर्ने प्रयास गरेका छौँ ।

गोबरका गुईंठा, चुइनी र दाउरा प्रयोग गरेका कारण यहाँका धेरै जनताको स्वास्थमा समस्या भएकाले केहि वडाबाट मैले निशुल्क ग्यास वितरण सुरू गरेको थिएँ । गोबरका गुईंठा, चुइनी र दाउरा प्रयोग गर्दा फोक्सो र आँखामा बढी समस्या भएकाले दोश्रो वर्षमा ६ नम्बर वडामा १५ सय ५१ सिलिन्डर बाँडेको थिएँ । यो आर्थिक वर्षमा प्रत्यक वडामा गरेर २८ सय भन्दा बढी सिलिन्डर बाँडिएको छ । अहिले पनि सिलिन्डर वितरण कार्यक्रम जारी छ ।

  • पाँच वर्षको कार्यकालमा आफ्नो क्षेत्रमा तपाइंले गरेका काम र उपलब्धि के के हुन् ?

यो पाँच वर्षमा सम्मरीमाई गाउँपालिकामा मैले केहि नयाँ योजना ल्याएको छु । काम त धेरै भएका छन् । पहिले भन्दा अहीले हाम्रो पालिकाको मुहार नै फेरिएको छ । जनताले प्रत्यक्ष महसुस गर्नेगरी धेरै काम भएका छन् ।

मैले एउटा नयाँ योजना ल्याएको थिएँ- गरिव आवास योजना, यो योजना देशकै नमुना काम हो । जसको बस्ने घर छैन, सुत्ने ठाउँ छैन ति गरिव जनताको लागि करिब १ सय २ घर बनाइदिएको छु । उनीहरूलाई घर हस्तान्तरण समेत गरिसकेको छु । ति जनताको चेहरामा मुस्कुराहट छाएको छ ।

त्यस्तै अर्को योजना सुरू बएको थियो उज्यालो सम्मरीमाई, जसमा मैले केहि घरधुरीलाई सोलार प्यानल वितरण गरेको थिएँ, जुन अहिले मज्जाले बलिरहेका छन् ।

गाउँपालिकाको बिल्डिङ तयार गरेका छौँ, यो बिल्डिङ जिल्लामै नमुनाको रूपमा गनिन्छ । यो पाँच वर्षमा ८० प्रतिशत सडकको काम भैसकेको छ । साढे १८ किमी सडक पिच भैसकेको छ । ३५ किमी सडक पिसीसी भएको छ । साढे ९ किमी सडकमा गडन्जा (इटको ब्रिक्स राखिएको) गरिएको छ । ४८ किमी सडक ग्राबेल गरिएको छ ।

सबै वडामा गरेर १२ सय बढी ह्याण्डपाइप राखेर खानेपानीको समस्या समाधान गरिएको छ । कृषकका लागि सिंचाई समस्या भएकाले साढे सात सय पम्प जडान गरिएको छ । उज्यालो अभियान अन्तर्गत सोलार लाइटको योजनामा १ सय ५० परिवार लावान्भित भएका छन् ।

तर जे भएपनि यो त काम नै होइन, अहिले त कामको बल्ल सुरुवात भएको छ । अझै धेरै काम गर्न बाँकी छ ।

  • तपाईंको पाँच वर्षे कार्यकालमा गर्न चाहेका तर गर्न नसकेका काम के के हुन् ?

मेरो सबैभन्दा ठुलो चाहना के थियो भने तरेनी नाका खुलाउन चाहेको थिएँ, तारिणी नाका भारतको शिद्धार्थनगर बोर्डरसँग जोडिएको छ । पारीपट्टी ठोठरी बजार छ । त्यो नाका खोल्न सकियो भने यो पुरै मर्चाबारको चौतर्फी विकाश हुनसक्छ । त्यो मेरो ठुलो चाहना थियो त्यो यो पटक गर्न सकिएन । भविष्यमा पनि मैले जसरी भएपनि यो नाका खुलाउने प्रयास गर्ने छु ।

त्यसबाहेक मेरो चाहना हाम्रो पालिकामा गरिवीको अवस्था भयावह छ । पिछडीएको एरिया भएकाले आवास नभएका थुप्रै गरिवीको रेखामुनी भएका सबै जनतालाई आवास दिने चाहना पुरा हुन सकेको छैन । केहीलाई दिएपनि धेरैलाई दिन बाँकी छ । गाउँपालिकाभित्र भएका अति गरिव जनतालाई घर बनाइदिने मेरो चाहना छ त्यो फेरि पुरा गर्छु । अब उनीहरूलाई गरिव आवास बनाएर दिने मेरो प्रथम प्रार्थमिकता हुनेछ ।

त्यसपछि प्रत्यक टोलहरूमा खानेपानी ट्यांकी निर्मार गर्ने मेरो योजना थियो त्यो पनि विविध कारणले पुरा हुन पाएन । त्यसपछि थोरै फुट गाडिएका ह्याण्ड पाइपहरू परिवर्तन गर्नु छ । धेरैजसो मुस्लिम समुदायमा ४०/४५ फुटमा मात्रै ह्याण्ड पाइप जडान गरिएका छन् ति रिप्लेस गर्नुपर्ने छ । ४०/४५ फुटमा आउने पानी त्यति स्वस्थ हुँदैन, खाना योग्य हुँदैन । त्यसैले खानेपानीबाट लाग्ने रोगहरूबाट बचाउन राम्रो खानेपानीको व्यबस्था गर्ने मेरो चाहना छ ।

त्यस्तै शिक्षित समाज निर्माण गर्नको लागि गुणस्तरीय शिक्षा जरुरी हुने भएकाले सबै चोकहरूमा फ्री वाइफाईको व्यबस्था गर्नुपर्ने छ । यहाँ सबै घरघरमा फ्री वाइफाई जडान सम्भव नभएकाले बच्चाहरूको पढाईको लागि चोकहरूमा फ्री वाईफाई लगाएर शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने छ ।

यस्तै प्रत्यक टोलमा सार्वजनिक शौचालय बनाउने योजना पनि चाहना हुँदाहुँदै यो कार्यकालमा पुरा गर्न सकिएको छैन । त्यो पनि गर्नुछ । यस्तै १० कक्षा भन्दा माथिका छात्राहरूलाई विद्यालय जान आउनको लागि साइकल दिने चाहाना हुँदाहुँदै पुरा गर्न सकिएको छैन अब त्यो गर्नुपर्ने छ ।

यो बाहेक आधुनिक शिक्षाको लागि ट्याब उपलब्ध गराउने चाहना पनि पुरा गर्न सकिएको छैन त्यो पनि गराउनु छ । अबको कार्यकालमा मैले यो सबै पुरा गर्ने आत्मविश्वास लिएको छु ।

  • त्यसोभए अबको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमै उठ्ने योजनामा हुनुहुन्छ ?

हो, म यो स्थानीय निर्वाचनमा उठ्ने तयारी गरिरहेको छु । यो क्षेत्रमा भएका समस्याबारे पनि मैले बुझ्ने मौका पाएको छु । म माओवादी केन्द्रबाट चुनाव लड्ने तयारीमा छु र यहाँ मेरो प्रतिस्पर्धी कोहीपनि छैन ।
मैले दोस्रो इनिङको तयारी गरेको छु । बितेको पाँच वर्षको सबै काम हेरेर जनताले मलाई नै जिताउँछन् भन्ने विश्वास पनि छ । यो क्षेत्रमा पाँच वर्षा अगाडी र अहिलेको जनतामा जमिन र आसमानको अन्तर आइसकेको छ । अहिले मेरो क्षेत्रको जनता जागरुक पनि भैसकेका छन् ।

  • पार्टीले जिम्मेवारी देला त ?

त्यो त पक्कापक्की भैसक्यो । पार्टीले जिम्मेवारी दिन्छ ।

  • पाँच वर्षको अनुभवमा सङ्घीयताबारे तपाईंको धारणा के हो ?

यो धेरै राम्रो विषय उठाउनु भयो । सङ्घीयताकै कारण जनताले आफ्ना अधिकार पाउन सक्ने भएका छन् । देश विकास र समाज विकासको लागि यसको विकल्प छैन ।

हेर्नुस, अहिले सबै पार्टीले यसको जस लिन खोजेका छन् तर यो खासमा माओवादी केन्द्रकै अगुवाईमा आएको हो, अझ भनौं श्रद्देय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनै यसको जननी हुनुहुन्छ । प्रचण्डजीको अथक प्रयासले आएको सङ्घीयताले जनताले आफ्नो अधिकार पाउन सफल भएका छन् ।

धन्यवाद