बाबुरामको परिवार भर्ती गर्ने केन्द्र बन्यो नेपाल समाजवादी पार्टी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बाबुरामको परिवार भर्ती गर्ने केन्द्र बन्यो नेपाल समाजवादी पार्टी



काठमाडौं- नातावाद र परिवारवादको चर्को भाषण गर्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ खोलेको पार्टी परिवार भर्ती केन्द्र बनाएका छन् ।

नेपाल समाजवादी पार्टीमा गठन गरेका भट्टराईले आफु पहिलो नम्बरमा र महेन्द्र राय यादवलाई दोस्रो अध्यक्ष बनाउंदै पार्टी गठन गरेका हुन् ।

उनको पार्टीको सहअध्यक्ष उनि प्रधानमन्त्री हुंदाका प्रमुख स्वकिय सचिव गंगानारायण श्रेष्ठलाई बनाएका छन् । श्रेष्ठ माओवादी जनयुद्धमा लामो समय होमिएका सिन्धुलिका नेता हुन् ।

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति भने १ सय ८९ सदस्यीय छ । पार्टीमा तीन उपाध्यक्ष बनाइएको छ । जसमा पहिलो नम्बरमा भट्टराई पत्नी हिसिला यमि समेत छिन् । उपाध्यक्षमा जाजरकोट घर भएका नेता भक्त बहादुर शाह र दुर्गा सोव र महासचिव रमेशप्रसाद यादवलाई बनाइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) छोडेर भट्टराईले नयाँ पार्टी गठन गरेपछि अब बन्ने पार्टीमा अन्यमा जस्तो गल्ती नगर्ने आँकलन गरिएको थियो । तर यो आँकलन उनले पार्टीको पहिलो बैठकबाटै गलत सबित गरिदिएका छन् ।

माओवादी जनयुद्धको नेतृत्व समेत गरेका र पार्टीको दोस्रो स्थानमा रहेका भट्टराईले माओवादी त्यागेर नयाँ शक्ति नामक पार्टी गठन गरेका थिए ।

माओवादी जनयुद्धलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेका भट्टराई पछिल्लो समय राजनीतिमा असफल सावित भएका छन् ।

भट्टराई संविधान जारी भएपछि माओवादीबाट अलग भएका थिए । भारतको चर्को असन्तुष्टिका बावजूत नेपालमा संविधान जारी भएपछि भट्टराईले नयाँ शक्ति गठन गरे पनि पार्टी चलाउन भने उनी असफल देखिए ।

अर्थमन्त्री हुँदा राम्रो काम गरेर प्रशंसा कमाएका भट्टराई प्रधानमन्त्री हुँदा गरेका कतिपय कामको अहिले पनि चर्चा हुने गरेको छ । नयाँ शक्तिपछि मधेश र पहाडलाई जोड्ने भन्दै जनता समाजवादी पार्टी बनाएका भट्टराई उपेन्द्र यादवसँगको मतभेदपछि अलग भएका थिए ।

समाजवादको नयाँ रेखा कोर्ने बताएका भट्टराईले छोरी मानुषी यमि र ज्वाँई जेकेन्द्र श्रेष्ठलाई पार्टीको केन्द्रीय समितिमा राखेका छन् ।

उनले परिवारका सबै सदस्यलाई पार्टीको केन्द्रीय कमिटीमा राखेपछि आलोचना हुन थालेको छ ।

मानुषी र जेकेन्द्रले अखिल क्रान्तिकारीमा समेत केन्द्रीय समितिमै रहेर राजनीतिक गरेका थिए ।