एमाले र माओवादीले वाम खोल ओढेर जनता झुक्याए : डा. भट्टराई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले र माओवादीले वाम खोल ओढेर जनता झुक्याए : डा. भट्टराई



काठमाडौं ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी र एमाले सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

सोमबार गोरखाको छेपेटारमा राष्ट्रिय युवा अभियान, नेपाल तरुण दल र राष्ट्रिय युवा मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टराईले एनेसेल र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण कम्पनीसँग एमाले र माओवादीले अरबौं रकम लिएको भन्दै उनीहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका हुन् । उनले भने, ”उहाँहरुले वाम खोल ओढेर जनतालाई झुक्याउने काम गरिराख्नुभएको छ । एमाले र माओवादी साच्चै कम्युनिष्ट शक्ति हुने हो भने जीवनस्तर पनि जनताको जस्तो हुनुपर्छ । एनसेल र बूढीगण्डकी जलविद्युत आयोजना निर्माण कम्पनीसँग अरबौं भ्रष्टाचार गर्नहरु कसरी सच्चा कम्युनिष्ट हुनसक्छन् ?”

उनले एमाले र माओवादीले वाम शब्दको दुरुपयोग गरेको आरोप पनि लगाए । उनले अगाडि भने, ”एमाले र माओवादीबीचको वाम गठबन्धन होइन, त्यो साच्चै नै वाम गठबन्धन भइदिएको भए मलाई आपत्ति हुने थिएन, वाम भनेको त एउटा अग्रगामी र परिवर्तनकारी शक्ति हो । कम्युनिष्टलाई मात्र वाम भनेर लिँइदैन, उहाँहरुले त्यो शब्दलाई नै दुरुपयोग गर्नुभएको छ ।”

उनले नयाँ युगको आवश्यकता पुरानो पार्टीले पुरा गर्न नसक्ने भएर नै आफूले नयाँ शक्ति पार्टी नेपालको स्थापना गरेको समेत बताए ।