देउवाले भने: जसपाभित्र कुरा मिलाउनुस् - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देउवाले भने: जसपाभित्र कुरा मिलाउनुस्



काठमाडौं । काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष यादव देउवालाई भेट्न बुधबार बूढानीलकण्ठ पुगेका थिए ।

भेटमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा देउवा, भट्टराई र यादवबीच करिब एक घण्टा छलफल भएको बताइएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा र भट्टराईसँग छुट्टाछुट्टै भेटेपछि बुधबार उनीहरुबीच छलफल भएको हो ।

भेटमा केपी ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन भट्टराई र यादवले आग्रह गरेको स्रोतको भनाई छ । जवाफमा देउवाले पार्टी वैकल्पिक सरकारको पक्षमा उभिने संस्थागत निर्णय गराउन भट्टराई र यादवलाई भनेका थिए ।

भट्टराई र यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि जसपा वैकल्पिक सरकारको पक्षमा उभिने विश्वास दिलाएका थिए । देउवाले काँग्रेस वैकल्पिक सरकारको पक्षमा रहेको भन्दै आफू परिपक्व परिस्थितिको प्रतिपक्षमा रहेको बताएका थिए ।

तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीसँग सहकार्यका लागि निरन्तर वार्तामा छन् । जसले देउवालाई झस्काएको देखिन्छ । छलफलमा देउवाले जसपा एक मतका साथ प्रस्तुत हुने वातावरण निर्माण गर्न देउवाको आग्रह थियो ।​