बाबुराम भट्टराई एक्लिनुको रहस्य - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बाबुराम भट्टराई एक्लिनुको रहस्य



२८ साउन, काठमाडौं ।

 

एकदमै  फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन् ।

अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन् । शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर्मालगायत मधेसी नेताले साथ छाडेका छन् । ०४० सालदेखि भट्टराईका हरेक ‘स्टेप’ मा साथ दिँदै आएका नेता देवेन्द्र पौडेललगायतले ‘सम्बन्धविच्छेद’ को अन्तिम तयारी गर्दै छन् ।

 

भट्टराईले ०७० को चैतदेखि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका विषयमा बहस चलाउँदै ‘नयाँ शक्ति निर्माण’ को नेतृत्व लिने प्रयास गरेका थिए । तीन दशक बढी समय कम्युनिस्ट पार्टीमा बिताएका उनले ०७२ असोज ९ देखि भने ‘आफैंले योगदान गरेको कम्युनिस्ट पार्टीसँग डिभोर्स’ गर्दै ‘औपचारिक’ रूपमै नयाँ राजनीतिक कोर्स सुरु गरेका थिए ।

तर, उनले बनाउन खोजेजस्तो नयाँ शक्ति दुई वर्षको यो अन्तरालमा बन्न नसकेपछि अहिले उनलाई साथ दिन पुगेका नेता नै धमाधम पार्टीबाट बाहिरन थालेका छन् ।

उनलाई पार्टी निर्माण अभियानमा सहयोग गर्ने हस्तीहरू देवेन्द्र पौडेल, रामचन्द्र झा टाढिएका छन् । रामेश्वर खनाल, मुमाराम खनाललगायत नेता पहिल्यै उनीबाट अलग भइसकेका छन् ।

भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक पार्टी बनाउने योजनामा तीन लक्ष्य राखेका थिए । पहिलो, आफूले निर्माण गर्ने वैकल्पिक पार्टी कुनै पनि वाद–दर्शनमा आधारित नरहने । दोस्रो, विचारधारा पार्टीको भए पनि जातिवाद र क्षेत्रवादबाट मुक्त हुने र तेस्रो, आर्थिक समृद्धि र विकासलाई मूल ध्येय बनाउने । त्यसपछि नै उनले अगाडि सारेका यिनै तीन लक्ष्यमा जोडिन आइपुगे, विभिन्न प्रवृत्तिका शक्तिहरू ।

माओवादीभित्रै रहँदा अन्तरसंघर्षमा साथ दिँदै आएका अधिकांश नेतादेखि गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिसम्म भट्टराईका नयाँ सारथिका रूपमा अगाडि देखिए । तर, पार्टीमा आएका विविध प्रवृत्तिका नेताको उचित व्यवस्थापनमा चुक्दा भट्टराई अहिले एक्लिन पुगेको विश्लेषण राजनीतिक वृत्तमा छ ।

कहिल्यै पार्टीमा ‘फस्ट म्यान’ भई लिडरसिप नलिएका भट्टराईमा लिडरसिपमा हुनुपर्ने क्वालिटी नदेखिनु र आफ्नो गन्तव्यमा आफैं अलमलिनुले अहिले एक्लिँदै जाने परिस्थिति सिर्जना गरेको बताउँछन् प्राध्यापक कृष्ण खनाल । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।