बाबुरामको नयाँ समाजवाद: आफू अध्यक्ष, श्रीमती उपाध्यक्ष - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

बाबुरामको नयाँ समाजवाद: आफू अध्यक्ष, श्रीमती उपाध्यक्ष



काठमाडौं- जसपा त्यागेर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराईको नयाँ पार्टीमा पार्टीले पूर्णता नपाउँदै परिवारबादको गन्ध आएको छ ।

नयाँ पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएपछि भट्टराईको चर्को आलोचना हुन थालेको छ । उनले पार्टीको उपाध्यक्षमा आफ्नै श्रीमतीलाई राखेपछि आलोचना हुन थालेको हो ।

नातावाद, कृपावाद र परिवारवादको चर्को आलोचना गर्ने भट्टराईले आफ्नै श्रीमतीलाई पार्टीको उपाध्यक्ष बनाएपछि यस्तो आलोचना भएको हो । कतिपयले श्रीमतीलाई उपाध्यक्ष बनाएर बाबुरामले नयाँ समाजवादको थालनी गरेको भन्दै व्यङ्ग्य गरेका छन् ।

प्रथम पूर्ण बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ ।

त्यस्तै सहध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठ चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह र दुर्गा सोव चयन हुँदा महासचिव रमेशप्रसाद यादवलाई बनाएको छ ।

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ ।

जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्र कुमार किराँती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैर भौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।

आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्न सक्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ ।

बैठकले हाल १८९ सदस्यीय केन्द्रीय सदस्य बनाएको छ ।