प्रचण्डलाई बाबुरामको प्रस्ताव: अब एउटै चिन्हमा चुनाव लडौँ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डलाई बाबुरामको प्रस्ताव: अब एउटै चिन्हमा चुनाव लडौँ



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले एउटै चुनाव चिन्हमा निर्वाचन लड्न प्रस्ताव गरेका छन् । बिहिबार भएको छलफलमा नेता भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।

माओवादीका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादीका अध्यक्ष भट्टराईबीच भएको भेटवार्तामा उनले यस्तो प्रस्ताव ल्याएका हुन् भेटवार्ता भएको छ ।

ललितपुरको हात्तीवनस्थित प्रचण्डको आफन्तको घरमा भएको भेटवार्तामामा आगामी आम निर्वाचनमा एकै मोर्चा बनाएर जाने बारे छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ । नेताहरू बिहिबार बिहान ९ बजेदेखि १० बजेसम्म छलफलमा जुटेका थिए ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी मोर्चा बनाउने बारे छलफल गरिरहेको बेला नेपाल समाजवादी पार्टी पनि उक्त मोर्चामा सहभागी हुने प्रस्ताव बैठकमा डा. बाबुराम भट्टराईले गरे ।

उनले आगामी चुनावमा संयुक्त मोर्चा बनाएर एउटै चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुनेबारे प्रस्ताव गरेको बताइएको छ ।

एउटै चुनाव चिन्ह बनाउनेबारे गठबन्धनमा रहेका र मोर्चामा सहभागी हुन सक्ने अन्य दलका नेतासँग पनि छलफल गर्ने निष्कर्षमा तीन नेताहरू पुगेका छन् ।