जब बच्चा बोकेकी महिलालाई पुरुष इन्सपेक्टरले कोर्रा हानिरहे... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जब बच्चा बोकेकी महिलालाई पुरुष इन्सपेक्टरले कोर्रा हानिरहे…



काठमाडौँ– बिहीबार अपराह्नदेखि एउटा भिडियो भाइरल छ।

यूट्युब लगायत सामाजिक सञ्‍जालहरुमा भाइरल बनेको उक्त भिडियोमा एक जना प्रहरी निरिक्षकले काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै खेदाइरहेका देखिन्छन्।

प्रहरीको निर्मम कुटाई खाने ती महिला हेमा श्रेष्ठ हुन्, जो आफै पनि पछिल्ला केही महिनायता सामाजिक सन्जालहरुमा भाइरल छिन्।

श्रीमानले अन्याय गरेको, हेला गरेको भन्दै बच्चा काखमा च्यापेर प्रहरी कार्यलयमा देखिने गरेकी हेमालाई यूट्युबरले लगातार पछ्याइरहेका छन्। तर बिहीबारको यो घटनाको कथा भने बेग्लै छ।

भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घरमा हेमासहितको महिला टोलीलाई नियन्त्रणमा लिनेक्रममा प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बच्चा च्यापिरहेकी हेमालाई लखेट्दै लाठी बजारेका थिए।

भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटनास्थल पुगेर हल्ला गरिरहेका महिलामाथि हातपातमा उत्रिएका थिए। सामान्यतया महिलालाई नियन्त्रणमा लिन महिला प्रहरी नै परिचालन गर्नुपर्ने कानुनी व्यवस्था छ।

ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले घटनाको छानबिन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको र प्रहरी निरीक्षक पौडेलसँग तत्काल स्पष्टीकरण सोध्ने निर्णय पनि भएको जानकारी दिए।

‘स्थिति नियन्त्रणमा लिन हामीबाट अलिक बढी बल प्रयोग भएकै हो। मैले तीन सदस्यीय छानबिन समिति गठन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छु।

प्रहरी निरीक्षक पौडेलसँग स्पष्टिकरण सोध्ने पनि काम हुन्छ। त्यसपछि आवश्यक कारबाहीका विषयमा अगाडि बढ्ने छौँ ‘, एसएसपी राईले भने।

हेमासहित केही महिला र युट्युबरलाई लिएर आफूलाई पूर्व जर्नेल खत्रीकी प्रेमिका दावी गर्ने माला शाह बिहीबार भैसेपाटीस्थित खत्रीको घरमा पुगेकी थिइन्। त्यतिबेला खत्रीको घरमा उनकी छोरी मात्र रहेको प्रहरीले जनाएको छ।

‘महिलाको हुल घरभित्र छिरेर तोडफोड गर्न थालेपछि हामीले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा स्थिति त्यस्तो बनेको हो’, एसएसपी राईले भने।

प्रहरीका अनुसार गत कात्तिक २७ गते भैँसेपाटीमा आफूलाई तीन जना महिलाले पिटेको भन्दै खत्री प्रहरीकहाँ उजुरी लिएर पुगेका थिए।

उजुकात्तिक २८ गते प्रहरी सम्पर्कमा आएकी मालाले आफू २२ वर्षदेखि खत्रीकी प्रेमिका रहेको र डेरा लिएरै राखेको तर पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताएकी थिइन्।