पार्टी र जनताको शिर ठाडो पारेको छु, अब विशेष योजना पुरा गर्नुछ : बछु केवट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पार्टी र जनताको शिर ठाडो पारेको छु, अब विशेष योजना पुरा गर्नुछ : बछु केवट



देश सङ्घीयतामा गएपछि स्थानीय सरकार बनेको पनि पाँच वर्ष पुरा हुँदैछ । गाउँगाउँमा शिंहदरबार पुगेर जनताले पाएका स्थानीय सरकारहरूको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले स्थानीय तहको चुनाव घोषणा गरेसँगै देश चुनावी माहोलमा होमिएको छ । गाउँदेखि सहरसम्म नेताहरू दौडधुपमा छन् ।

सङ्घीयताको विषयमा दुईथरी चर्चा र बहस भैरहेका बेला कतिपय स्थानीय सरकारहरूले जनतालाई महसुस हुनेगरी सेवा दिएका छन् भने कतिपय विवादित पनि बनेका छन् । तर अधिकांश स्थानीय सरकारले भने जनताका दुखमा मल्हमपट्टि गर्न सफल भएका छन् ।

स्थानीय सरकारको पहिलो कार्यकाल सकिनै लाग्दा हिमालपोस्टले केहि पालिका प्रमुखहरूसँग यसबारे जिज्ञासा राखेको थियो । यो पटक हामीले भारतको उत्तर प्रदेशसँग सीमाना जोडिएको रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्छुलाल केवट (बछु केवट)सँग संवाद गरेका छौँ ।

केवट राजनीतिमा लाग्नुभन्दा पहिलेदेखि नै सामाजिक काम गरेका व्यक्ति हुन् । सम्मरीमाई गाउँपालिकामा थुप्रै काम गरिसकेका तर केहि बाँकी रहेका योजना र सपना पूरा गर्नका लागि फेरि चुनाव लड्ने तयारीमा रहेका उनले पाँच वर्षमा शेरे समय नियम कानुन र पूर्वाधार विकाशमा लागेकाले अबको कार्यकालमा जनताको जीवनस्तर उकास्ने योजना आफूसंग रहेको बताएका छन् ।

प्रस्तुत छ अध्यक्ष केवटसँग गरिएको संवाद:

  • पाँच वर्षको अनुभवमा स्थानीय सरकारबारेको अनुभव बताइदिनुस् न

पालिकाको संस्थापक अध्यक्षको हैसियतले बितेको पाँच वर्ष मेरालागि अनुभव नै अनुभवले भरिएको छ । मुलुक सङ्घीय गणतान्त्रिक बनेपछि अत्यन्त नौलो अनुभूति भएको थियो । सबैभन्दा पहिला हाम्रो ध्यान पनि सङ्घीयतालाई नै संस्थागत गर्नेतर्फ केन्द्रित भयो । सिस्टम नै नयाँ भएकाले हामीलाई मात्रै होइन कर्मचारीलाई पनि यो अध्ययनकै विषय बनेको थियो ।

त्यसपछिको केहि समय स्थानीय सरकार आफैले कानुन, ऐन र कार्यविधि बनाउनुपर्ने थियो । केहि समय त यसमै खर्च भयो । त्यतिबेला चै वटा वडाका अध्यक्षहरू एकै ठाउँमा बसेर काम गर्नु भएको थियो । अहिले नौं वटा वडा कार्यालयहरू बनाइएको छ । जनतालाई सहज सेवा दिन सफल भएका छौँ । अहिले पालिकाको पनि नयाँ भवन बनेको छ । त्यसका अलावा जनताको स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकीहरू निर्माण भएका छन् । स्थानीय सरकारबाट जनताले सहज सेवा पाउने वातावरण बनाएका छौँ । स्थानीय सरकारबाट जनताले सेवा पाउँदा गज्जबको अनुभव र अनुभूति गर्न पाएको छु ।

  • तपाईं आउनुभन्दा अघि र जितेको पाँच वर्षमा जनस्तरमा के फरक छ ?

यो प्रश्न त मलाई भन्दा जनतालाई सोध्यो भने थाहा हुन्छ । जनताको लागि नै काम गरेकाले फरक नपर्ने त कुरै भएन ।  पहिले भन्दा अही त यहाँ ‘ड्रास्टिक चेन्ज’ भएको छ ।

जनताको लागि स्वास्थ्य, शिक्षा, सडक, खानेपानी लगायतका कुरामा प्रत्यक्ष फरक परेको छ । त्यो समय र अहिलेको पालिकामा ठुलो परिवर्तन भएको छ  । पहिले यहाँ समस्या भोगेका जनताले अहिले धेरै फरक पाएका छन् ।

  • तपाई अध्यक्ष भएपछि गरेका काम र उपलब्धि के हुन् ?

सबैभन्दा पहिले त सङ्घीयता संस्थागत गर्नुपर्ने, स्थानीय तह जनताको ल्याइएको हो भन्ने अनुभूति गराउनुपर्ने थियो । पहिलो त पार्टीको पहिलो एजेण्डा लिएर चुनाव जितेपछि पार्टीको शिर ठाडो बनाउने काम गरिएको छ । दोस्रो कुरा जनताको पनि शिर ठाडो बनाउने काम हामीले गरेका छौँ ।

सबैभन्दा पहिले सङ्घीयताको कुरा उठाउने मधेशकै नेता गजेन्द्र नारायण शाह हुन् । हालको जनता समाजवादी पार्टी र केहि परिवर्तनकारी शक्तिहरूले ल्याएको सङ्घीयता संस्थागत हुनैपर्ने थियो । त्यतिबेला संघियताको विरोधमा भएका र बाध्यताले स्वीकारेका पार्टीहरूले पनि अहिले अपनत्व लिन खोज्दैछन् । यसले पनि यो कदम सही थियो भन्ने प्रमाणित गर्छ ।

हामीले यसैमा टेकेर देशमा कसैले नगरेका केहि नयाँ काम गरेका छौँ । मेरो कार्यकालमा हाम्रो भाषामा पुस्तक निकालेका छौँ । ‘हमार भाषा’ भन्ने पुस्तक अहिले कक्षा एकदेखि पढाई हुँदैछ । हाम्रो मातृभाषा भोजपुरी-अबधिमा प्रकाशित उक्त पुस्तक पाठ्यक्रममै पढाउन पाउँदा अत्यन्त गर्वको महसुस भएको छ ।

हामीले बालिका बीमा गरेका छौँ, जुन विमाले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान जस्तै हो । अहिले हाम्रो पालिकामा जन्मिएका बालिकाहरूलाई खातामा पैसा राखिदिने व्यबस्था गरेका छौँ । त्यो पैसा २० वर्षपछी मात्रै निकाल्न मिल्छ । खासमा यो कार्यक्रमका बहुआयामिक फाइदा छन् । मधेशी समुदायमा हुने बालविवाह रोक्न र गरिबीको अवस्था कम गर्न मद्दत गर्दछ । त्यो मात्र होइन छोरी जन्मने डरले हुने भ्रुणहत्या पनि यो कार्यक्रमले रोकिन्छ । यो कार्यक्रमले छोरीहरूलाई उच्चशिक्षा दिलाउन पनि सहयोग पुग्ने हुन्छ ।

यस्तै पहिले चुनाव प्रचार गर्न जाँदा बाटो नभएका गाउँहरूमा अहिले मोटरबाटो पुराएका छौँ । अहिले हरेक गाउँमा दमकल पुग्ने बाटो बनेका छौँ । खासमा एम्बुलेन्स र दमकलको लागि जनताले अहिले दुख पाउनुपर्ने अवस्था छैन ।

अहिले हाम्रै गाउँपालिकाको दमकल छ । चार वटा पालिका मिलेर साझेदारीमा हामीले दमकल किनेका छौँ । अहिले चार वटा एम्बुलेन्स छन् ।  स्वास्थ्य र विपद जस्ता कुरामा जनताले सास्ती पाउनुपर्ने अवस्था छैन ।

सडक कालोपत्रे, पिसीसी र पूल निर्माणमा हामीले उल्लेखनीय काम गरेका छौँ । कांग्रेसका नेता भारत शाह र एमालेका नेताहरूले पनि गर्न नसकेका कामहरू हामीले गरेका छौँ । कांग्रेस एमालेले पटक-पटक वचन दिएर पनि गर्न नसकेका कतिपय पुलहरू हामीले बनाएका छौँ । पोखराहवामा बनाएको पुल त हामीले नमूना नै बनाएका छौँ ।

पाँच वडामा आफ्नै भवन बनाएका छौँ । आधारभूत स्वास्थ्य चौकीहरू बनेका छन् । अहिले १५ शैयको अस्पताल निर्माणाधीन छ । गाउँपालिका भवन निर्माण भैसकेको छ । यस्तै कृषिमा पनि हामीले नौलो प्रयास गरेका छौँ ।

मैले आफैले दर्ता गराएको बहुमुखी क्याम्पस छ, त्यो मैले ५०/५० रुपैयाँ चन्दा उठाएर बनाएको हो । यस्तै पर्यटन प्रवर्दनको लागि पनि हामीले काम गरिरहेका छौँ । लुम्बिनीको काखमा रहेकाले पनि त्यहाँ आउने पर्यटकहरूलाई ल्याउन पर्यटकीय क्षेत्र बनाउने प्रयास गरेका छौँ । जिल्लाकै सबैभन्दा ठुलो ताल गैडहवा तालको मास्टरप्लान बनाएका छौँ, त्यसको डीपीआर समेट बनाइसकेका छौँ । त्यसमा चारतिरबाट बाटो निर्माण गरेका छौँ । त्यस्तै हामीले अहिले एउटा यसोधरा पार्क बनाउन लागेका छौँ । माता यसोधराको पार्क मन्दिरसहित बनाउन लागेका छौँ । त्यसको तीन करोडको टेन्डर भैसक्यो । विश्वमा कहीं नभएको यसोधराको मन्दिर हामीले बनाउन लागेका छौँ ।

  • जनप्रतिनिधिको नजरबाट जनताको जीवनस्तर उकास्न के गर्नुपर्ने रहेछ ?

जनतालाई आत्मनिर्भर बनाउनका लागि उनीहरूलाई प्रत्यक्ष फाइदा हुने र रोजगारी सिर्जना हुने लका काम गर्नुपर्छ । विकास र शिक्षामा बढी जोड दिनुपर्छ ।

हामीले अहिले जनताको जीवनस्तर उकास्नका लागि महिला र युवाहरूलाई सिपमुलक तालिमहरू दिएका छौँ । ड्राइभिङ तालिम दिएका छौँ । इलेक्ट्रिक तालिमहरू र मोबाइल बनाउने तालिम दिएका छौँ । हरेक वर्ष हामीले यस्ता खालका थुप्रै तालिमहरू चलाएका छौँ ।

कृषिमा विभिन्न खालका अनुदानहरू दिएका छौँ । किसानहरूलाई प्रोत्साहन गर्नका लागि हामीले विभिन्न कार्यक्रम ल्याएका छौँ । उत्पादन नबिग्रियोस् भन्नका लागि कोल्ड स्टोर समेत बनाएका छौँ । पशुपालनका लागि आर्थिक सहयोग र प्राविधिक उपलब्ध गराएका छौँ ।

यस्तै जनतासँग जोडिएका काम गर्न सक्नेहो भने जनताको जीवनस्तर उकासिन सक्छ ।

  • तपाईंको कार्यकालमा गर्न चाहेका तर नसकेका काम के छन् ?

धेरैजसो त काम पुरा गरिएको छ । कतिपय काम चाहेर पनि गर्न नसकिने रहेछ, कतिपय बजेटको अभावले त कतिपय प्रविधि र समयको अभावले । खासमा यो पालिकालई पर्यटकीय क्षेत्र बनाउने मेरो सपना थियो । त्यो पुरा त हुन्छ तर यो पाँच वर्षमा गर्न सकिएको छैन । त्यस्तै गैडहवा ताललाई मास्टरप्लान अनुसार पुरा गर्न सकिएको छैन । त्यस्तै सूर्यपुरालाई सहरी उन्मुख नगर बनाउने मेरो योजना थियो त्यो पनि पुरा हुन सकेन । एउटा ठुलो अस्पताल बनाउने योजना थियो । बर्थिंग सेन्टर बनाउने काम पनि आगामी दिनमा मात्रै अगाडी बढ्ने भयो । कतिपय कृषिमा गर्नुपर्ने खास काम बाँकी छन् ।

  • निर्वाचन मुखैमा आइसक्यो, चुनावमा लड्ने कि नलड्ने ? अबको योजना के छ ?

पाँच वर्षको अवधि स्थानीय तहलाई संस्थागत गर्नमै बितेको छ । धेरैजसो समय सिकईमै बिताइयो, नियम कानुन र पूर्वाधार बनाउनमै समय बितेको छ । केहि महत्वपूर्ण योजना बाँकी नै छन् ।

ति काम पुरा गर्न पनि अवको चुनावमा म गाउँपालिका अध्यक्षकै रूपमा दोहोरिने योजनामा छु । जनताले पनि मै आउनुपर्छ भनिरहेका हुनाले म चुनाव लड्छु । जनताका गुनासा सुन्नका लागि मैले अहिलेसम्म खुला कार्यकक्ष बनाएको छु । जो पनि सहजै मेरो कार्यकक्षमा आउन सक्छ ।

मेरो सपना र मैले गर्नुपर्ने अधुरा काम पुरा गर्नका लागि पनि मलाई सहयोग चाहियो भनेर मैले जनतालाई भनिसकेको छु ।

  • अब चुनाव जित्नुभयो भने तपाईंले के गर्नुहुन्छ ?

पहिलो कुरा त के भने अहिले सम्म विकाश निर्माणको काम भयो ।  अबको चरणमा ब्यापक रोजगारी सिर्जना गरेर एउटा जिम्मेवारी पुरा गर्नु छ । गाउँपालिका र यहाँका जनतालाई आत्मनिर्भर बनाउनेगरी काम गर्ने मेरो योजना छ ।

त्यस्तै स्वास्थ्य र शिक्षामा पनि धेरै काम गर्ने योजना छ मसँग । ठुलो अस्पताल र डिग्री कलेजको स्थापना गर्ने मेरो योजना छ । आधुनिक कृषि बनाउने हो । यस पालिकालाई पर्यटकीय क्षेत्र बनाउने मेरो योजना छ ।