बादलले गरे प्रचण्डमाथि 'काउन्टर': चितवन पुगेर खोले 'फायर' - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बादलले गरे प्रचण्डमाथि ‘काउन्टर’: चितवन पुगेर खोले ‘फायर’



चितवन- चितवन पुगेर नेकपा एमालेका स्थायी समिति सदस्य राम बहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्डमाथि काउन्टर गरेका छन् । उनले गृहजिल्ला पुगेर प्रचण्डसँग अबको चुनावमा आफू लड्ने बताएका छन् ।

प्रचण्डले पार्टीको लाइन छाडेर पलायन भएको बादलले बताएका छन् । प्रेस चौतारी चितवनको आयोजनामा भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बोल्दै बादलले एकता भएको पार्टीबाट पलयान भएर नयाँ गुट स्थापना गरेको आरोप लगाए ।

प्रचण्डले नेपालको बुर्जुवाहरुको पछाडी लागेर कम्फटेवल सरकार निर्माण गरेको र यो प्रवृत्तिले देशको लोकतन्त्र, राष्ट्रिय एकता र समाजवादबाट समृद्धिको मार्गमा नयाँ चुनौति थपेको उनको भनाई थियो ।

लाइन भनेको राष्ट्रियता, समाजवाद, समृद्धि हो भन्दै अहिलेको गठवन्धनले राष्ट्रियताको प्रश्नमा नयाँ चुनौति थपेको बताए । लिम्पियाधुरा, एमसीसी लगायतका विषयमा छिमेकी राष्ट्रको अहित हुने गरी नबोल्न गृहमन्त्रालयले सार्वजनिक गरेको पत्रले यो गठवन्धन किन र कसरी के का लागि बनेको भन्ने प्रष्टै रहेको बादलले बताए ।

यो लोकतन्त्र विरोधी लाइन भएको भन्दै अर्थमन्त्रालयले आर्थिक स्रोत खुलाउन नपर्ने भन्ने पछिल्लो भनाईले देशमा कालोधन मौलाउने बाटो खुला गरिदिएको उनको भनाई थियो ।

साथै वादलले १० वुँदे कार्यान्वयनको चरणमा रहेको बताउँदै आफू रहेको पार्टी नै ठूलो पार्टी भएको बताए । अर्को प्रसंगमा बादलले सभामुख साझा व्यक्ति नभई कुनै एक पार्टीको कार्यकर्ता बनिदिँदा समस्या भएको बताए ।