बाढीपीडितको सहयोगका लागि खोलियो तातोपनी नाका , खाध्यान्न सहयोग - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बाढीपीडितको सहयोगका लागि खोलियो तातोपनी नाका , खाध्यान्न सहयोग



हिमाल पोष्ट / २३ मंसिर, काठमाडौं ।  चिनियाँ प्रहरीहरुले तातोपानीका बाढीपीडितहरुलाई खाध्यान्न सहयोग गरेका छन् ।
चीनको खासाका सशस्त्र प्रहरीहरुले सीमाका बाढीपीडितहरुलाई राहत दिन मितेरी पुल खोलेर लगेका हुन् । बुधबार बेलुकी नै चारसय बाढीपीडित परिवारलाई चीनको खासास्थित  रमितेमा लगेर सामूहिक रुपमा कार्याक्रम गरी चिनियाँ प्रहरीहरुले खाध्यान्न बाँडेका थिए ।

उनीहरुले २ सय ५० बोरा चामल, १२ क्विटल नुन, ५० बोरा अन्य खाध्य सामाग्री र वृद्धवृद्धालाई ४० थान न्यानो कपडा लगायत बालबालिकाहरुलाई १० थान स्टेशनरी सामाग्री वितरण गरेका बताएका छन् । लामो समय ठप्प रहेको तातोपानीस्थित मतेरी पुल एकदिन खुलाएर बाढीपीडितहरुलाई सहयोगार्थ लगिएको हो ।

‘बुधबार ६४ परिवारलाई बाँडिएको थियो । आज भन्सार कार्यालयमा बाँकीलाई पनि बाँडेर सकिएको छ,’ राहत वितरणमा सहयोगी रहेकी सामाजिक परिचालक नानु तामाङले भनिन्, ‘चारसय परिवारलाई चिनियाँ प्रहरीले खाध्य सामाग्री वितरण गरेका छन् ।’ उनको अनुसार सीमामा तैनाथ चिनियाँ सशस्त्र प्रहरीले नेपाल प्रहरी र गाविसको रोहवरमा तातोपानी विपद व्यवस्थापन समितिको संयोजकत्वमा सामाग्री बाँडेका थिए ।

‘तातोपानी नाका खुलेको छैन, राहत बाँड्न भनेर एकपल्ट नाका खोलेर चिनियाँ प्रहरीले लगेका हुन,’ राहत लिन गएका तातोपानी चौकीडाँडाका रामचन्द्र श्रेष्ठले भने, ‘चिनियाँहरुले प्रत्येक परिवारलाई चामल, नुन, लत्तापडा समेत दिएका छन् ।’ उनले नाका खोलेको नभई बाढीपीडितहरुको लागि सहयोग दिन एक घण्टाको लागि मात्रै खासामा लगेको जानकारी दिए । उनीसहित रमितेमा चारसय परिवारका सदस्य राहत लिन गएका थिए ।

सीमास्थित सशस्त्र प्रहरी बलका डिएसपी विमल डाँगीका अनुसार चिनियाँ प्रहरीहरुले तातोपानी क्षेत्र आसपास भएका बाढीपीडितलाई सहयोग गरेका हुन् । ‘बुधबार सबैको रोहवरमा राहत वितरण गरिएको हो,’ डिएसपी डाँगीले भने, ‘बाढीपीडितको सहयोगको लागि चीनकै भूमीमा लगेर राहत दिइएको छ ।’ उनले तातोपानीका बाढीपीडित परिवारलाई सहयोग गर्न मितेरी पुल खोलेरै रमिते लगेको बताए ।

तातोपानी गाविस, सशस्त्र प्रहरी, नेपाल प्रहरीदेखि तातोपानी विपद व्यवस्थापन समिति र स्थानीयहरु राहत लिन मितेरी पुल पारी रमितेमा पुगेका थिए । उनीहरु फर्किएलगत्तै मितेरी पुलको गेट पुन: बन्द गरिएको छ ।

‘पीडितहरु फर्किएलगत्तै बुधबार बेलुकीदेखि नै मितेरी पुल बन्द गरिएको छ, केही समयको लागि खोलिएको मात्रै हो,’ तातोपानी गाविसका सचिव डम्बरबहादुर श्रेष्ठले भने, ‘अहिले सबैले राहत पाइसकेका छन् । चिनियाँहरुले सहयोग दिएर मित्रताको उदाहरण दिएका छन् ।’ उनले चिनियाँ प्रहरीले बाढीपीडितलाई गरेको सहयोग उदाहरणिय भएको बताए ।