सोँच यसरी बदलौं, जसले दुनिया बदलोस - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सोँच यसरी बदलौं, जसले दुनिया बदलोस



-भरत बगाले

टेलिभिजनमा आउने एउटा विज्ञापनले मलाई निकै प्रभावित बनाएको थियो । विज्ञापन कुनै पत्रिकाको हो क्यारे । त्यहाँ एउटा बालकको भूमिका औधी गजबको छ । केही आन्दोलनकारीले फालेको ढ्ङा इट्टाले सडक को खाल्टो पुरिन्छ, आन्दोलनकारीले बालेको आगोको राको बाटोमा जाडोले कठन्ङिएको बुढा बा लाई ताप्न दिइन्छ । भित्ता लेख्ने पेन्टले मन्दिरको आकार बनाइन्छ । कुनै पनि घटना या विषयलाई फरक तरिकाले सोच्न, दृष्टिकोण परिवर्तन गर्न प्रभावकारी र हामी जे हौ हाम्रो सोचको उपज हौँ भन्ने कुराको ज्वलन्त उदाहरण हो त्यो विज्ञापन । बढो सुन्दर विज्ञापन ।

संस्कार त्यसरी सिकाए कसो होला ?? तपाईँ हामी सबैले यसरी नै फरक ढ्ङले सोच्न थाल्यौँ भने ???
अब दोस्रो कुरा । त्यो पनि कथा । कुनै ठाउँमा एक राजा थिए जो आफ्ना प्रजालाई अत्यन्तै माया गर्दथे र प्रजाले पनि राजालाई उत्तिकै । एक दिन राजालाई दूधको पोखरी बनाउने चाहाना भएछ । उनले पोखरी खन्न लगाएछन् र तयार भएछ ।

अब पोखरीमा दूधको खाँचो भो । राजाले राज्य कै लगानीमा पनि दूध हाल्न सक्दथे तर उनलाई लाग्यो कि यो फरक पोखरी हो यसमा सबैको सहभागिता भयो भने, सबैजना पोखरी प्रति उत्ति नै जिम्मेवार हुन्छन् । अनि राजाले घोषणा गरेछन् कि भोलि बिहान सबैले आफ्नो घरबाट एक थोपा पनि घरमा नराखी दूध ल्याउनु र पोखरीमा खन्याउनु । सोही गाउँको एक परिवारमा श्रीमतीले आफ्नो श्रीमान् लाई भनिछन् – बुढा सबैले दूध नै लैजान्छन् तपाईँ सबेरै उठेर एक बाल्टी पानी हालेर आउनु कसैलाई थाहा पनि हुन्न घरमा दूध पनि रहन्छ अनि राजाको मान पनि ।

श्रीमानलाई जुक्ति मनासिव लागेछ र हस् भनेर बिहानै पानी खन्याएर आएछ । जब उज्यालो हुन्छ राजा उक्त पोखरी हेर्न जान्छन् र अचम्मित हुन्छन् किनकि पोखरीमा एक थोपा पनि दूध हुँदैन पानी मात्र हुन्छ ।

किनकि उक्त परिवारले जे सोंच्यो गाउँका सारा परिवार ले त्यहि सोच्छन् कि हामीले एक बाल्टी पानी हालेर कसले थाहा पाउँछ र अरूले दूध हालिहाल्छन् नि । यसरी राजा को सपना तुहिन्छ । हो आज नेपालीको सपना यसरी नै तुहिएको छ । कारण अरू कोही हैन हामी नै हौँ । त्यो एक परिवार तपाईँको अनि मेरो । मैले गलत गरेर के हुन्छ र अरूले ठिक गरिहाल्छन् नि । या मैले ठिक गरेर के हुन्छ र अरूले बेठिक गरिहाल्छन् नि ।

माथिका दुवै घटना र प्रसङ्गले हामीलाई हाम्रो सोंचको विकास सकारात्मक पाटोमा लैजानु जरुरी छ भन्ने सिकाउँछ । तर यही घटनालाई पनि तर्क दिएर मान्छे पन्छिन चाहन्छ । वास्तवमा तर्क ले मानिसको बिचारको हत्या गरेको छ, तर्कले मानिसलाई बेवकुफ बनाएको छ, तर्कले मानिसलाई अबिबेकी बनाएको छ । तर यो सत्य कोही स्विकार्न चाहन्न किनकि त्यहि तर्कमा मान्छे आफूलाई सुरक्षित महसुस गरेको छ ।

तर्क सतही हो यस्ले बिचारको गहिराई नाप्न सकिँदैन । न त भावको नै सम्मान गर्न सकिन्छ । कुनै कुरा या घटना हुनुको पछाडि स्वाभाविक रूपमा केही न केही कारण जरुर हुन्छ तर मान्छे कारणको गहिराइमा नगैकन तर्क ले लेप लगाएर छोपिदिन्छ । सजिलो पनि तेहि हुन्छ । जबसम्म तर्क रहन्छ तबसम्म सत्य सधैँ गर्वमै मर्छ । यो सत्य हो र सत्य उजागर गर्न तर्कलाई चिर्नै पर्छ ।

अतः चुरो कुरो के भने, हामीले आफूलाई सच्याउनै पर्छ । केही न केही तर्क दिएर उम्कने आदतले हामीलाई सत्य देखि धेरै टाढा राखेको हुन्छ । याद गरौँ तर्क एक बेस्या हो । बेस्या जस्तै तर्क सबैतिर मोड्न सकिन्छ । तर्क भन्दा ठुलो कुरा त मान्छेको सोच्न सक्ने क्षमता हो । कसरी सोच्छ, कुन ढङ्गले सोच्छ । त्यसैले सही तरिकाले सोचौँ सत्यको पक्षमा गहिराइमा पुगौँ । सही बिचारको गाडिले सही गन्तव्यमा पुर्याउछ । त्यसैले सोँच यसरी बदलौं, जसले दुनिया बदलोस ।