राज्यमन्त्री तथा बाग्लुङ क्षेत्र नम्बर १ का उम्मेदवार चम्पादेवी खडकाको घरमा बम विस्फोट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राज्यमन्त्री तथा बाग्लुङ क्षेत्र नम्बर १ का उम्मेदवार चम्पादेवी खडकाको घरमा बम विस्फोट



बागलुङ, ५ मङसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ ।

राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो ।

मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए । विस्फोटनलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ । बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए ।
विस्फोटन गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ ।
‘हामी अनुसन्धानमै छौँ, चुनावी वातावरण बिगार्ने उद्देश्यले विस्फोटन गराएको देखिन्छ,’ प्रहरी उपरीक्षक खापुङले भने, ‘घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’

गत कात्तिक ३० गते गल्कोटको हटियामा भएको बामगठबन्धनको आमसभामा पनि बम बिष्फोटन गराईएको थियो भने बडीगाड गाउपालिका २ न्वारमामा वडा सदस्यको निवास नजिकै फेला परेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको थियो ।