वैदेशिक रोजगारीमा गएका एकै जिल्लाका १७ जनाकाे मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वैदेशिक रोजगारीमा गएका एकै जिल्लाका १७ जनाकाे मृत्यु



नवलपुर- वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ ।

वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा मृत्यु हुनेमा जिल्लाको कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका पाँच, गैँडाकोट नगरपालिकाका चार तथा देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका एक/एक जना रहेका छन् ।

हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का अनुसार वैदेशिक रोजगारमा मृत्यु भएकामध्ये १७ जनाको शव यस वर्ष जिल्लामा ल्याइएको भए पनि मृत्यु हुनेको सङ्ख्या अझै बढी हुनसक्छ ।

परिवारजनले स्वतःस्फुर्त रूपमा र अन्य माध्यमबाट जिल्लामा शव ल्याउनेको सङ्ख्या ठूलो हुन सक्ने हिकोडेफद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका परामर्शदाता रञ्जना लम्सालले बताए ।

सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक रीतुराम सोतीले यसवर्ष १२६ ठगीका मुद्दा दर्ता भएकोमा ५५ वटाको छिनोफानो गरिएको बताए । क्षतिपूर्तिका लागि दर्ता भएका १७४ मुद्दामध्ये १०० जनालाई चार करोड ४४ लाख ४३ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको सोतीको भनाइ छ । उद्धारको पर्खाइमा रहेका २५ मध्ये २१ जनालाई उद्धार गरिएको सोतीले जानकारी दिए ।

गतवर्ष मात्रै जिल्लाका छ हजार ८२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका थिए ।

अहिले पनि जिल्ला प्रशासन कार्यालय नवलपुरमा दैनिक ८० जना पासपोर्ट बनाउन आउने गरेका छन् । भिजिट राहदानी बनाएर तथा भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जाने जिल्लावासीको सङ्ख्या ठूलो हुन सक्ने उनकाे भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार नवलपुरका ४४ हजार ८७९ (छ हजार ९३७ महिलासहित) जना वैदेशिक रोजगारमा छन् । रासस