बैशाखमै चुनाव गर्न प्रचण्ड र माधव पनि तयार, देउवाले आज मिति घोषणा गर्ने - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बैशाखमै चुनाव गर्न प्रचण्ड र माधव पनि तयार, देउवाले आज मिति घोषणा गर्ने



काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै गर्ने तयारी भैरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले बैसाखामै चुनाव गर्नुपर्ने मूडमा आफूहरू पुगेको समेत बताएका छन् । यसबारे शनिबार बोलाइएको गठबन्धनको बैठकले टुङ्गो लगाउने तयारी छ ।

यसअघि बैसाखबाट चुनाव सार्ने ढीपी गरेका माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका केहि नेताहरूलाई प्रचण्डहरू तयार भएको बताएका छन् । बैसाखामै चुनाव हुने पक्कापक्की भएपछि शुक्रबार बसेको नेपाली कांग्रेसको बैठकमा पनि चुनावबारे कुनै छलफल भएन ।

पार्टी नेतृत्वको आलोचना गर्ने र चुनावबारे दवाव दिने तयारी गरेका संस्थापन इतर समूहका नेताहरू पनि कांग्रेस बैठकमा बोलेनन् । बैठकबाट निस्किएका नेताहरूले पनि गठबन्धन संविधान विपरित हुने कुनैपनि कार्यमा नलाग्ने बताएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई चुनाव बैसाखामै गर्ने ब्रिफिङ गरेका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग बैठक बसेका थिए । उक्त बैठकमा प्रचण्डले चुनाव बैसाखमै हुने बताएका थिए ।

मन्त्रीहरूसँगको बैठकमा प्रचण्डले सबैतिरबाट आएको सकारात्मक दवावकै कारण पनि चुनाव सार्न नहुने अवस्था सृजना भएको बताएका थिए । उनले चुनाव समयमै हुने भएकाले अबको समयमा थप राम्रा काम गर्न समेत मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

बैठकमा प्रचण्डले मन्त्रीहरूलाई प्रयास धेरै राम्रो गरेको तर कतिपय देखाउनुपर्ने काम नदेखाएको भन्दै काममा लागिपर्न निर्देशन दिएका थिए । प्रचण्डले चुनाव आउने लागेकाले अब झन् राम्रा काम गरेर देखाउन समेत आग्रह गरेका थिए ।

निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्षले समेत बैशाखमै चुनाव हुनुपर्ने दबाव दिइरहेका बेला शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय छलफल भएको थियो । सो छलफलमै स्थानीय चुनाव बैसाखामै गर्नेबारे सहमति बनेको बताइएको छ । त्यसैका लागि शनिबार गठबन्धनको बैठक बसेर टुंग्याउने तयारी भएको समेत बताइएको छ ।

प्रधानमन्त्री देउवाले सबैतिरको दवाव झेल्न सक्ने अवस्था नभएको भन्दै बैशाखमै स्थानीय चुनाव गर्नुपर्ने बताएपछि प्रचण्ड त्यसमा राजी भएको स्रोतको दाबी छ । त्यसपछि प्रचण्डलाई देउवाले माधव नेपाललाई मनाउने जिम्मा दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी दबाव झेल्नुभन्दा बैशाखमै स्थानीय तहको चुनाव गर्ने मुढमा सुरु देखि नै थिए ।

बालुवाटारमा गठबन्धन दलका तीन शीर्ष नेताले आपसी छलफल गरेपछि त्यहीँ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पनि बोलाइएको थियो । थपलियाले स्थानीय चुनाव अहिलेकै कानूनअनुसार हुने बताएका थिए । प्रमुख आयुक्तसँगको छलफलपछि सत्ता गठबन्धनका नेताहरुले आयोगलाई तयारी अगाडि बढाउन आग्रह गर्दै शनिबार पाँचदलीय गठबन्धनको बैठक राखेर थप निर्णय गर्ने बताएका थिए ।