वैशाख ७ भित्रै काँग्रेसका उम्मेदवार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

वैशाख ७ भित्रै काँग्रेसका उम्मेदवार



ललितपुर, चैत १७ गते ।

नेपाली काँग्रेसले स्थानीय तह चुनावका लागि वैशाख ७ गतेभित्र उम्मेदवार तय गरिसक्ने निर्णय गरेको छ ।  केन्द्रीय कार्य समितिको बैठकमा उम्मेदवार चयन गर्ने प्रक्रिया पूरा गर्न स्थानीय तह पुनःसरचनाका आधारमा नयाँ सङ्गठनात्मक संरचना बनाउने निर्णय भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले गाउँपालिका, नगर, उपनगर र महानगरपालिकामा नयाँ संरचनाअनुसार समन्वय समिति समेत गठन गरेको छ ।  गाउँपालिका र नयाँ गठन भएको नगरपालिकाको केन्द्र रहेको गाउँ इकाई सभापतिलाई संयोजक र अन्य इकाई सभापतिलाई सह–संयोजक र सबै इकाई कार्यसमितिका सबै पदाधिकारीलाई गाउँपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय काँग्रेसले गरेको हो ।  त्यस्तै एक वा एकभन्दा बढी वडा गाभिएर कायम भएको वडाको हकमा पनि त्यसरी नै समिति गठन गरिएको छ ।

बैठकले गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका विस्तार भई नगरपालिका उपमहानगरपालिका र महानगरपालिका गठन भएकोमा नगरका सभापतिलाई संयोजक र अन्य इकाई सभापतिलाई सह–संयोजक र सबै इकाई कार्यसमितिका पदाधिकारीलाई सदस्यमा समेट्ने निर्णय गरेको छ ।  बैठकले स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्दा सम्बन्धित निकायका समन्वय समितिको सिफारिसको आधारमा गर्ने निर्णय गरेको हो ।  त्यसका लागि सम्बन्धित क्षेत्रका पार्टीका केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधानसभामा प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापति पदको निर्वाचनका निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमिति बैठकको सर्वसम्मत निर्णयबाट गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले पार्टीको अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई चयन गरेको छ भने लेखापरीक्षण समितिको संयोजकमा चित्रलेखा यादवलाई चयन गरेको छ ।  भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएका घटनालाई काँग्रेसले अत्यन्त दुःखद्, खेदजनक र दुर्भाग्यपूर्ण घटना ठहर गरेको छ ।