गठबन्धन बैठकमा चर्काचर्की: देउवाले मागे माफी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गठबन्धन बैठकमा चर्काचर्की: देउवाले मागे माफी



काठमाडौं- बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा चर्काचर्की भएको छ । नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिविधिबारे आलोचना गरेका थिए ।

बैठकमा गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री देउवामाथि नेताहरू खनिएपछि चर्काचर्की भएको बताइएको छ । नेताहरूले आलोचना गरेपछि देउवाले गल्ती स्वीकार गर्दै आइन्दा यस्तो गल्ति नगर्ने बताएका थिए ।

देउवाले प्राविधिक कारणले यस्तो भएको भन्दै नेताहरूलाई सम्झाउने प्रयास गरेका थिए । उनले कतिपय बाध्यताहरू बताउन पनि नमिल्ने खालका हुने बताएका थिए । बैठकमा नेताहरूलाई सम्झाउँदै कतिपय कुराहरू आफूले चाहेको पनि हुन नसक्ने बताएका थिए ।

देउवाले अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने र यस्ता गल्ति नगर्ने देउवाले प्रतिवद्धता जनाएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि देउवालाई सचिएत बनाएका थिए ।

काँग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका नेताहरु सम्मिलित बैठकमा चित्रबहादुरले गठबन्धन तोड्ने चेतावनी समेत दिएका थिए । बैठकमा माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि राजनीतिक नियुक्तिहरु र निर्णयहरु गर्दा गठबन्धनमा सल्लाह भएर मात्र गर्नुपर्ने बताएका थिए ।

बैठकमा देउवाले आफ्नो परिवारबाट यस्तो प्रस्ताव आएको संकेत गरेका थिए ।उनले परिवारबाट कसैले प्रस्ताव ल्याएको हुनाले राज्यमन्त्री बनाएको देउवाले जवाफ दिए पनि कसको प्रस्तावमा मन्त्री बनाइएको भन्ने चाहिँ उनले बैठकमा खुलाएनन् ।

जबकि सत्तारुढ दलहरुको कार्यदलमा समेत सल्लाह नगरी श्रेष्ठलाई राज्यमन्त्री बनाइएको भन्दै काँग्रेस नेता पूर्णबहादुर खड्कासमेतले आपत्ति जनाइसकेका छन् ।