विपक्षी गठबन्धनको बैठक सकियो: यस्तो भयो निर्णय - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विपक्षी गठबन्धनको बैठक सकियो: यस्तो भयो निर्णय



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएक विपक्षी गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान देउवा निवासमा बसेको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।

पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय लिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकले कोरोना महामारीबाट सुरक्षित हुँदै राजनीतिक तहबाट असंवैधानिक कदमको विरोध गर्ने तय भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

बैठकमा नेताहरुले आफनो असंवैधानिक कदमका विरुद्ध सडक प्रदर्शन हुने डरले प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई कडा बनाएको निष्कर्ष समेत निकालेका थिए । कोराना महामारी नियन्त्रण र रोकथामका अन्य उपाय अबलम्बन नगरी नागरिक अधिकार कुण्ठित पार्ने गरी निषेधाज्ञलाई मात्रै जोड दिएको विपक्षी गठबन्धनको ठहर छ ।

अध्यादेशबाट बजेट ल्याएको विरोधमा संयुक्त विज्ञप्तिमार्फत साझा धारणा सर्वजनिक गर्न लागिएको छ । केहीबेरमा विपक्षी गठबन्धनका तर्फबाट संविधान विपरीत सरकारबाट भएका गतिविधिको विरोधमा संयुक्त विज्ञप्ति सार्वजनिक गरिँदै छ ।

संयुक्त विज्ञप्तिमा कोभिड १९, भ्रष्टाचार, संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई समेटिएको छ ।