बाजुरा तनावग्रस्त- दुईको मृत्यु, थप सुरक्षाकर्मी पठाइयो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बाजुरा तनावग्रस्त- दुईको मृत्यु, थप सुरक्षाकर्मी पठाइयो



बाजुरामा भएको झडपले स्थिति तनावग्रस्त बनेको छ । बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मदतानस्थलमा झडपकै कारण एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने अर्का एकको पनि मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–७ का सन्दीप अयडीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो।

मत खसालेको बक्स लैजाने क्रममा भीडले गोली भरिएको प्रहरीको इन्सास राईफल पनि लगेको नेपाल प्रहरीले जनाएको छ । अबेर रातिसम्म प्रहरीले हतियार फेला पार्न सकेको छैन। नेकपा (एमाले) र नेपाली कांग्रेसका समर्थकबीच मत पेटिका खोसाखोस हुँदा झडप भएको बताइएको छ ।

उक्त झडपमा चार जना घाइते छन्। घाइतेमध्ये प्रहरी सहायक हवल्दार कृष्ण कुँवरको अवस्था गम्भीर छ। अपराह्न साढे ४ बजे स्थिति तनावग्रस्त भएपछि मतदान स्थगित भएको छ।

मतदान सकिने वेला तीन–चार सय जनाको समूह ढुंगा, लाठीसहित आएर मत पेटिका कब्जा गर्ने प्रयास गरेका थिए। पेटिका भने प्रहरीले सुरक्षित राखेको छ ।

अहिले पनि त्यहाँको स्थिति सामान्य भईसकेको छैन। थप मद्दतका लागि सुरक्षाकर्मी घटनास्थलतिर लागेको बताइएको छ ।