बालमैत्री नगरमा मेयरकै निर्देशनमा बालबालिकामाथि दुर्व्यवहार भएपछि... - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बालमैत्री नगरमा मेयरकै निर्देशनमा बालबालिकामाथि दुर्व्यवहार भएपछि…



परासी- बालमैत्री घोषणा भैसकेको नवलपरासीको रामग्राम नगरपालिकामा बालदिवसकै दिन अनौठो घटना भयो । जनप्रतिनिधिले गरेको निर्णयको विरोध गर्न आएका विद्यार्थीमाथि रामग्राम नगरपालिकाले लाठी वर्षाएर बाल दिवस मनाएको छ ।

भदौ २९ गते देशभरका शिक्षण संस्था र सरकारी कार्यालयहरूमा सिर्जनात्मक तथा बालमैत्री कार्यक्रम गरेर बालदिवस मनाइरहेका बेला यहाँका बालबालिकाले भने दुर्व्यबहार खेपेका छन् ।

मध्य सिजनमा विद्यार्थीको भविष्य धरापमा पार्नेगरी नगरपालिकाले ठूलो संख्यामा शिक्षकको सरुवा गरेपछि निर्णय सच्याउन माग गर्दै नगरपालिका पुगेका विद्यार्थीहरूमाथि प्रहरी परिचालन गरी दुर्व्यबहार गरिएको हो ।

नगरपालिकाले राजनीतिक पूर्वाग्रह साँधेर नियमविपरित ठूलो संख्यामा शिक्षकको सरुवा गरेपछि सरुवाप्रति असन्तुष्टि जनाउन नगर कार्यपालिकाको कार्यालयमा पुगेका विद्यार्थीमाथि कानुन नै आकर्षित हुने गरी दुर्व्यवहार गरेको छ ।

सामाजिक सञ्जालमा भेटिएका केहि भिडियोमा प्रहरीले कलिला बालबालिकामाथि लाठि बर्षाएको दृश्य देख्न सकिन्छ । कतिपयले यस्ता भिडियो शेयर गर्दै बालदिवसकै दिन बालबालिकामाथि गरिएको यस्तो अपराधले नवलपरासीकै बेइज्जत भएको बताएका छन् ।

अझै रोचक त के छ भने, गत चैत्र महिनामा यही रामग्राम नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएको थियो । घोषणा गरिएको एकवर्ष नपुग्दै नगरपालिकामा बालबालिकामाथि नै अचम्मको घटना भएपछि नगरपालिकाका जनप्रतिनिधि अहिले आलोचनाको केन्द्रमा परेका छन्।

नगरपालिकाका मेयर धनपत यादवले भने बालबालिकालाई कुनैपनि दुर्व्यवहार नगरेको जिकिर गर्छन । उनले भने, त्यस्तो केहि भएको होइन, हिजो हामीले सम्झाएर पठाएका हौँ, उनीहरूलाई विद्यालयले परिचालन गरेको शंका छ ।’ भिडियोमा त दमन गरेको, ठेलमठेल गरेको, प्रहरी लगाएर बल प्रयोग गरेको प्रष्ट देखिन्छ त भनेर प्रश्न गर्दा उनले भने ‘भिडियोमा त कोही उफ्रिन्छन्, कोही धकेलाधकेल गर्छन्, त्यो सत्य होइन ।‘ तर सरोकारवाला भने बालबालिकालाई प्रहरी लगाएर बल प्रयोग गरिनु अपराध भएको बताउँछन् । बालबालिकालाई विभिन्न तरिकाले सम्झाउन सकिने लगायतका विकल्प हुँदाहुँदै प्रहरी लगाएर बल प्रयोग गरिनु भनेको अपराध भएको सरोकारवाला बताउँछन् ।

भएको के हो ?  

नगरपाकिकाका एक कर्मचारीका अनुसार बाल दिवसको अवसरमा नगरपालिकाको सभाहलमा चित्रकला प्रदर्शनी राखिएको थियो । कतिपय सामुदायीक विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको सरुवाले आक्रोशित विद्यार्थीहरूले विरोध जनाएका थिए । ठूलो संख्यामा आएका विद्यार्थीहरू पालिकाको गेटभित्र छिर्न थालेपछि डीएसपीको कमाण्डमा गएको प्रहरीले उनीहरूलाई धकेलेर बाहिर निकालेको थियो । बालबालिकाको कार्यक्रममा लाठीसहित पुगेको प्रहरीले धेकेल्दा कतिपय विद्यार्थी घाइते समेत भएको बताइएको छ ।

निजि विद्यालयलाई पोस्ने नियतका साथ नगरपालिकाले पढाइ राम्रो गर्ने शिक्षकहरूलाई छानीछानी सरुवा गरेको विद्यार्थीहरूको आरोप छ । सरुवा फिर्ता गर्न आफूहरूले विरोध गरेको पवन मा.वि.का विद्यार्थीहरुले बताएका छन् । पवन मा. वि. बाट प्रधानाध्यापकसहित ६ जना शिक्षकको सरुवा गरिएको छ ।

नगर क्षेत्रमा ३२ वटा सामुदायिक विद्यालयमा छन् । ति विद्यालयमा कुल १ सय ४१ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् । जसमा नगरपालिकाले मावि तहका ८ जना, निमावी तहका २० जना र प्रा.वि.तहका ५ जनासहित ३३ जना शिक्षकको सरुवा गरेको छ  । यस्तै अझै उत्ति संख्यामा सरुवाको तयारी समेत नगरपालिकाले गरेको छ ।

सरुवा भएकामा शिक्षकहरु एकै विद्यालयमा ३ वर्षदेखि २८ वर्षसम्म कार्यरत रहेको बताइएको छ । जबकी करार शिक्षकको कार्यकाल पाँच वर्षको हुनेगर्दछ ।

यस विषयमा आदर्श नमुना मा. वि.को पूर्णकालीन प्रधानाध्यापक अरविन्द पाठकले केही विद्यालयका विद्यार्थीहरू नगरपालिकामा पुगेर सरुवाको विरोध गर्दा बल प्रयोग गरेर बाहिर निकालिएको बताए । उनका अनुसार विद्यार्थीहरूले आफ्नो भविष्य बिग्रने भन्दै यो सरुवा नियमसंगत नभएको बताएका थिए । शैक्षिक सत्रको सुरुवातमै सरुवा नगरेर अहिले किन सरुवा गरेको भन्दै विद्यार्थीहरूले प्रश्न गरेको उनले बताए । पवन मा. बि. लगायतका विद्यार्थीहरूले शिक्षक सरुवाको विरोध गरेको उनले बताए ।

पाठकले आफ्नो पनि सरुवा भएको आफूले थाहा पाएपछि आफ्ना विद्यार्थीहरूलाई आन्दोलन नगर्न र विरोध नगर्न आग्रह गरेको बताए । उनले भने, ‘मैले त हाम्रा विद्यार्थीहरूलाई विरोधमा नजानु भोलि शिक्षकले भड़काए भन्ने आरोप आउन सक्छ भनेर सम्झाएको हुँ ।‘

पाठक नगर शिक्षा समितिको पनि सदस्य हुन् । उनलाई  नमुना विद्यालय संचालन व्यवस्थापिकामा भएको प्रावधान अनुसार २०७९ जेष्ठ २६ मा पूर्णकालीन प्रधानाध्यापकमा नियुक्त गरिएको थियो ।

निजी विद्यालय पोस्ने खेल खेलेको आरोप

यस्तै शिक्षासँग जानकार स्थानीयहरूले नगरपालिकाले बेमौसममा सरुवा गरेर निजि स्कुललाई पोस्ने काम गरेको आरोप लगाए । नगरपालिकासँग नजिक रहेका एक जानकारले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘मेयरले राजनीतिक पूर्वाग्रहका कारण शिक्षकहरूको सरुवा गरेका हुन्, उनी निजि विद्यालयका संचालकहरूसँग नजिक भएका व्यक्ति हुन्, त्यसैले सामुदायीक विद्यालय धरासायी बनाउन उनी लागिपरेका छन् ।‘

मध्य सिजनमा गरिएको सरुवाले विद्यार्थीको भविष्य नै धरापमा पार्ने जानकारहरू बताउँछन् । एक जानकारका अनुसार शिक्षकले वर्षभरी आफ्नो कार्यक्रम बनाएको हुन्छ । त्यहि अनुसारको योजनाले पढाइरहेको हुन्छ । अब बिचमा आएर एकाएक सरुवा हुँदा पढाइरहेका विद्यार्थीहरूको पनि कोर्ष बिग्रन्छ र नयाँ विद्यालयमा पनि पढाईको लय बिग्रन सक्छ ।

अर्कातिर नगरपालिकाले भने शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकको सरुवा गरेको बताएको छ । यसमा पनि नगरपालिका र जानकारहरूको मत फरक छ । मध्य सिजनमा गरिएको जबर्जस्ती सरुवा गरेर शिक्षक र शिक्षकको मनोबल खस्किने भएकाले शैक्षिक गुणस्तर झनै खस्किने जानकार बताउँछन् ।

शिक्षक सरुवाको विषयमा शिक्षा सम्बन्धित र विज्ञहरूसँग परामर्श नगरेर सरुवा गरिएकाले नगरपालिकाको यो कार्य नियमसंगत नभएको बताइन्छ  । २०७९ भाद्र १७ गते नगरपालिकाले शिक्षक मिलान गर्ने निर्णय गरेको थियो । यही निर्णयको आधारमा शिक्षकको सरुवा गरिएको नगरपालिकाले दाबी गरेको छ तर शिक्षक मिलान भनेको ठूलो संख्यामा गरीने सरुवा होइन । शिक्षक मिलान भनेको एकै विद्यालयमा एकै विषय पढाउने शिक्षक भएको खण्डमा जहाँ अभाव छ त्यहाँ पठाउने वा यस्तै भन्ने बुझिन्छ तर नगरपालिकाले शिक्षक मिलान भनेर गलत नजिर बसाल्न खोजेको देखिन्छ ।

के भन्छन् मेयर यादव ?

ठूलो संख्यामा शिक्षकको सरुवा गरेको विषयमा रामग्राम नगरका मेयर धनपत यादवले शिक्षकहरूले आफूहरूले प्रक्रिया पुरा गरेर सरुवा गरेको दाबी गर्छन । विद्यार्थीमाथि गरिएको दमनबारे उनले आन्दोलन गर्न विद्यार्थीहरू पठाएको शंका लागेर आफूहरूले यसबारे सोधपुछ गरेको बताए । शिक्षकहरूले भने आफूहरूले नपठाएको तर विद्यार्थीहरू स्वतःस्फूर्त रूपमा आएको बताएको मेयर यादवले बताए ।

यादव भन्छन्-‘हामीलाई शंका लागेर यसमा छानबिन समिति पनि बनाएका छौँ, छानबिनपछि मात्र यसको निर्क्यौल हुन्छ ।‘ विद्यार्थीहरूमाथि दुर्व्यवहार किन गर्नुभएको भन्ने प्रश्नमा यादवले कुनैपनि विद्यार्थीलाई दुर्व्यवहार नगरेको जिकिर गरे । विद्यार्थीहरूले तोडफोड गर्छन कि भनेर उनीहरूलाई धकेलेर बाहिर निकालिएको उनले बताए ।  

विद्यार्थीको आन्दोलनपछि मेयर धनपत यादवले केही प्रधानाध्यापकहरूलाई बोलाएर विद्यार्थीलाई किन आन्दोलन गर्न पठाएको भन्दै स्पष्टिकरण सोधेका थिए । यादव आफैले पनि शिक्षकलाई बोलाएर स्पष्टिकरण लिएको स्वीकार गरे ।