आहा ! त्यो बालापनको दशैँ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आहा ! त्यो बालापनको दशैँ



निराजन अधिकारी

आहा त्यसबेलाका दशैँ ! सम्झँदा पनि कति मिठा थिए त्यो पलहरु ।

घटस्थापनाको अघिल्लो दिन हामी पूरै स्कूल कमेरोले रङ्गाउँथ्थौँ । कोही झाडी सफा गर्ने, कोही भित्ताहरु सफा गर्ने, कोही पानीले भित्ता भिजाउने ।

तर मलाई भने पल्लो डाँडामा रहेको भलायोडाँडासम्म तीन घण्टा हिँडेरै भएपनि कमेरो लिन जान मन पथ्र्थो । कारण मलाई कमेरो खनेको हेर्न असाध्यै मन प¥थ्यो । अझ अचम्मको कुरा कहिलेकाहीँ कमेरो खाईन्थ्यो पनि । स्वादबिहिन कमेरो त्यो बेला किन त्यती मिठो लाग्दथ्यो अहिले सोचेर दंग पर्दछु । सायद त्यती बेला भोजन भन्दा भोक मिठो भएरै होला । दिनभभरिको मेहनतपछि स्कूल पूरै नयाँ हुन्थ्यो । अनि बल्ल स्कुल पूरै एक महिनाको लागि बिदा ।

घरहरु पनि दुलही झैँ सिँगारिन्थे । टाढाबाट मेरो गाँउ अनि मैले पढने स्कुल हेर्दा मलाई त्यती बेलै स्वर्गको एउटा टुक्रा झै लाग्दथ्यो । आज भोली परदेशमा बस्दा साच्चै त्यो गाउँ स्वर्ग नै रहेछ भन्ने आभास गरेकोछु ।

हाम्रो गाँउभन्दा मतुवाली गाउँका घर एक से एक राम्रा देखिन्थे । उनीहरुका घर रातोमाटो, कमेरो र विभिन्न किसिमका रङ्गहरुले सिँगारिन्थे । हाम्रो घर भने रातो माटो र सेतो कमेरोले पोत्ने बाहेक खासै सिँगारेको कहिल्यै थाहा भएन । मतुवाली गाँउले हाम्रो गाँउलाई सिंगार पटारमा सधै जित्थ्यो ।

हामी सबै मिलेर गाउँका बाटोमा रहेको झाडीहरु फाँड्थ्यौँ, बाटोमा रहेका खाल्डाखुल्डी पुर्ने अनि माथि टुँडिखेलमा रहेको ठूलो न ठूलो पिपलको रुखमा पिङ हाल्थ्यौ । अनि बल्ल दशैँको आर्को रौनक थपिन्थ्यो । हामी केटाकेटीको त बासै पिङमा, उठेदेखि मध्यरातसम्म । राती अबेरसम्म घर नजाँदा बा पिङ भएकै स्थानमा लिन आउनुहुन्थ्यो, कानका कानबुट्टामा पक्डदैँ बाले भन्नुहुन्थ्यो ‘तेरो पढाईलाई यही पिङले बिगार्ने भो, आईन्दा यता देख्न नपरोस् ।’ कठै मेरा बा ! त्यो बाल्यकालमा पिङको महत्व बालाई के थाहा । न मेरो पढाई पिङले बिगा¥यो, न त म आफै बिग्रीएँ ।

अष्टमीको अघिल्लो दिन बिहानै गाउँका आमाहरु घरमा भएका सबै सिरक र तन्नाहरु डोकोमा हालेर खल्टुपानी पँधेरामा जान्थे । ठूलो खड्करोमा पानी र खरानी उमालेर त्यसमा सबै कपडा पकाउँथे । अनि मुङग्रोले दिनैभरि कपडा कुट्दै र सुकाउँथे । दिनैभरि त्यसरी कपडा कुट्दा हात कति दुख्दो होला आमाहरुलाई । आमाहरुले धोएको कपडाले एकैछिनमा त्यो पाखो पूरै सेताम्य हुन्थ्यो । यता बाहरु सिमल रुखको फेदमा सितल ताप्दै दिनभरि तास खेल्थे । कुनै हात खाँदा जोडले तास भुईँमा फाल्दा बाका हात पनि कति दुख्दा हुन्, त्यही भएर होला हरेक रात सुत्नुभन्दा पहिले आमाले बाका हातमा तातो

तेलले मालिस गर्नुहुन्थ्यो । बिचरी आमाको हात हामीले देखेरै टिठ मान्थ्यौ, तर मालिस गर्दिने कोही भएन्न ।

मेरा लागि त्यो बेलाको दसैँमा मासु खाने, दिनभरि पिङ खेल्ने, सारा गाउँ चाहार्ने मुख्य महत्व भित्र पर्दथे । अर्काको बारीमा फलेको काक्रा र बेलौती चोरेर खाने रमाईलो पलमा पर्दथे । अझ मजाको झण त वर्षमा एकपटक मात्र पाईने स्कूलको नयाँ सर्ट र पाईन्ट लागाएर मामाघर जाने, मामाघर गएर दक्षिणामा पाएको रुप्पे गनेर बस्ने अनि लंगुर बुर्जा खेलेर भएको रुप्पे भरी उतै सकेर खाली हात घर फर्कने पल कहिले भुल्न सकिँदैन ।

त्यो भन्दा बढि मैले दसैँलाई कहिल्यै बुझिन ।

त्यो एउटा उमेर थियो मैले बुझिन जब बुझ्न थालेँ, दसैँ खल्लो लाग्न थाल्यो । न मासु खाने रहर हुन्थ्यो, न पिङमा मच्चिने, न त चोर्ने, न नयाँ कपडा । मामाघर नगएको जुग हुन्थ्यो, मलाई मामाघर नरमाईलो लाग्थ्यो वा मामाघरले मलाई नरमाईलो मान्थ्यो कहिल्थै बुझ्न सकिएन ।

सुर्के कामीदाईको गोठमा हँसिया अर्चाप्न जाँदा हँसियामा नयाँ धार लाग्थ्यो, हँसिया कालो र सेतो दाँत देखाएर गजपले हाँस्थ्यो । तर सुर्के दाई हाँसेको कहिल्यै देखिन ।

दसैँको ठिक अघिल्लो दिन मैते दमाईँ दाईकोमा नयाँ सर्ट र पाईन्ट लिन जाँदा त्यो कल र नयाँ कपडाको मीठो गन्धले मलाई सबथोक बिर्साउँथ्यो तर मैते दाईको घरबाट दसैँको मीठो बासना आएको कहिल्यै थाहा पाईन ।

दुबैको अनुहारमा उदास, बनावटी हाँसो र थुप्रै रहरहरु दबेको कुरा थुप्रै दसैँपछि बल्ल थाहा पाएँ । दसैँको थोरै खुसी र दसैँपछि ऋणैको भारिमा अर्को भारि थप्ने रहेछ । त्यसैले मैते दाईको छोराले भन्थ्यो– ‘ओई भक्के, आजकल बा रातभरि निदाउन्न्न, यता र उता फर्कन्छन्, सुस्केरा हाल्छन्, अनि छट्पट्ँिदै रात काट्छन् ।’

टिकाको दिन मामाघर जानेको लस्करै हुन्थ्यो किनकी एउटै गाउँबाट अर्को गाउँमा बिबाह गर्ने थुप्रै हुन्थे । हामी नै आफ्ना दाजुभाईहरु ८–९ जना हुन्थ्यौँ । टिकाको दिन मामाघर गएका हामी पूर्णिमाको दिनमा जमरा बिसाएर मात्र फर्कन्थ्यौँ । जो जो पूर्णिमासम्म बस्न पाउँथे उनीहरु भाग्यमानी थिए किनकी पूर्णिमाको दिन पनि टिका लगाएर पुनः पैसा पाउँथे, नपाउनेहरु रिसले मुर्मुरिन्थे ।

पैसा पनि जसरि आयो त्यसरी नै सकिन्थे, कि पैसा खाएर सकिन्थे, कि त लङ्गुर बुर्जाको खालमा चढाईन्थे ।

पूर्णिमाको भोलिपल्ट सबैको हिसाबकिताब हुन्थे, जित्नेको धाक छुट्टै हुन्थ्यो तर हार्नेले पनि मैले हारिन भनेर कहिल्लै भन्थेन तर सबको बिजोक सबैलाई थाहा हुन्थ्यो ।

आजकलको दसैँमा किनकिन त्यति रौनक लाग्दैन । कोही मज्जाले मनाउँछन् । कोही मात्र परम्परा धान्न मानिरहेको जस्ता देखिन्छन्, अझ कतिले त मान्न पनि छाडिसके ।

सबै चाड हाम्रा हुन्, कुनै चाड सबैले मनाउँछन्, कुनै निश्चित समुदायले । तर सबैको चाडलाई सबैले सम्मान गरौँ अनि यो दशैँ पनि खुलेर मनाऔँ ।