बालेन इफेक्ट: अब महानगरका कर्मचारीले हाजिरी अनुसार मात्रै तलब पाउने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बालेन इफेक्ट: अब महानगरका कर्मचारीले हाजिरी अनुसार मात्रै तलब पाउने



काठमाडौं महानगरपालिकाका कर्मचारीले अब हाजिर अनुसार मात्रै तलब पाउने भएका छन् । बालेन शाहले मेयरमा जितेपछि कर्मचारीमाथि निगरानी थालिएको छ ।

बिहीबार महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले सूचना जारी गर्दै काठमाडौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिर अनुसारको मात्रै तलब पाउने जानकारी गराइसकेका छन् ।

मातहतका सबै विभाग र वडालाई महानगरले पठाएको सूचनामा भनिएको छ, ‘चैत मसान्तमा महानगरपालिकाका वेबसाइटमा गरिएको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी वेबसाइटमा नदेखिएकाले के–कति कारणले हाजिर नभएको र आफ्नो वडा÷विभागमा कार्यरत कर्मचारीहरुको विवरण प्रशासन विभागको मेलमा नपठाएमा असार महिनाको तलब नबन्ने छ ।’

सीसीटिभी क्यामेराबाट निगरानी

काठमाडौं महानगरपालिकाले सिसी क्यामेरा राख्न सुरु गरेको छ । महानगरका निर्देशक नवराज थापाका अनुसार महानगरको सबै विभाग र नगद कारोबार हुने कार्यालय स्थानमा सीसी क्यामेरा राख्न थालिएको हो ।

यस्तै रत्नपार्क, बालाजुमा रहेको राजश्व काउन्टरमा पनि सीसी क्यामेरा राख्न सुरु भइसकेको थापाले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको १४ वटा विभाग छन् । बबरमहलमा ५ वटा विभाग, ताहाचालमा २ वटा विभाग, टेकुमा २ वटा विभाग, राष्ट्रिय सभामा एक विभाग र बाँकी सुन्धारस्थित महानगरको कार्यालयमा रहेको छ । निर्देशक थापाका अनुसार सबै विभागमा सीसी क्यामेरा जोड्ने काम केहि दिनभित्रै सकिने छ ।

काठमाडौैं महानगरमा २ हजार ५ सय कर्मचारीको दरबन्दी भएता पनि हाल १ हजार ८ सय कर्मचारी कार्यरत छन् ।

बालेनले यसअघि नै महानगरमा रहेका कर्मचारीहरुले सवारी मर्मत गर्दा राजश्व चुहावट गर्ने भन्दै राष्ट्रिय आविष्कार केन्द्र मार्फत सवारी मर्मत गर्न जिम्मा दिने तयारी गरेका छन् ।