बालेन रणनीति: ‘भाइरल’ वडाध्यक्षको घरमै ‘लन्च मिटिङ’, चर्चाको ओइरो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बालेन रणनीति: ‘भाइरल’ वडाध्यक्षको घरमै ‘लन्च मिटिङ’, चर्चाको ओइरो



काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अहिले सामाजिक संजालमा थप चर्चा भैरहेको छ । महानगरको पहिलो कार्यपालिका बैठकमा चर्को बोलेर चर्चामा आएका काठमाडौँ-१६ का वडाध्यक्षकै घरमा खाना खानेगरी बालेन पुगेपछि उनको थप चर्चा चुलिएको हो ।

बालेनले महानगरको काम–कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडाध्यक्षहरूसँग छलफल थालेका छन् । सोही क्रममा शनिबार उनले काठमाडौं–१६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।

रिजालको बालाजुस्थित घरमै भेट्न पुगेका प्रमुख शाहले फोहोर व्यवस्थापन र महानगरका काम–कारबाहीका विषयमा सुझाव मागेका थिए । उनले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका शाहले त्यहाँ झन्डै दुई घण्टा बिताएका थिए । ‘लन्च’सहितको सो ‘मिटिङ’मा वडाध्यक्ष रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरे । मेयरलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

रिजालले भने, “नगर प्रमुखज्यूसँग छलफल भएको हो, महानगरपालिकाकेन्द्रित छलफल भयो ।”भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए ।

रिजालले महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाएका थिए । त्यसलगत्तै सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको थियो । उनको रणनीति र कार्यशैलीलाई लिएर धेरैले प्रसंशा गरेका छन् ।