नक्कली शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणसँग कहाँबाट आयो अर्बौंको सम्पत्ति ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नक्कली शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणसँग कहाँबाट आयो अर्बौंको सम्पत्ति ?



काठमाडौं- हिमालपोस्ट डटकमले २०७८ साल माघ ३ गते तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणको सम्पत्ति विवरणसहितको समाचार प्रकाशन गरेपछि उनका आसेपासेले फोन गरेर धम्क्याउने काम गरे । समाचार भाइरल बनेपछि उनको सचिवालयबाट समेत धम्कीको भाषा प्रयोग गरियो । उनै खाँण अहिले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पुर्‍याउने योजना सहित सूची हेरफेर प्रकरणमा सबैभन्दा पछि गृह प्रशासनमा जोडिन आइपुगेका पात्र हुन्, टेकनारायण पाण्डे। गृह प्रशासनको अनुभव नै नभएका पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको इच्छा अनुसार नै आफूले मानव तस्कर गिरोहलाई सघाएको प्रहरीलाई बताएका छन्।

यो गिरोहमा हालसम्म पक्राउ परेका आठ जनामध्ये पाण्डे सबैभन्दा ‘हाई प्रोफाइल’ व्यक्ति हुन्। उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो। यसै प्रकरणमा जोडिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी भने पक्राउ पूर्जी जारी भएपछि अहिले फरार छन् ।

उनै खाँणको सम्पत्ति विवरण भने चकित पार्ने खालको छ । जिन्दगीभर राजनीति गरेर कुनै व्यवसाय नगरेका तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण अर्बौं सम्पत्ति र सय तोला सुनचाँदीको मालिक भएको भन्दा सबैलाई आश्चर्य लाग्ला । उनको काठमाडौंदेखि बुटवलसम्म सबै सम्पतिको मुल्यांकन गर्दा अरबौंको भेटिएको छ ।

उनी आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खाँणको सम्पत्ति चकित पार्ने खालेको छ । अर्को आश्चर्य त के छ भने मन्त्रीपूर्व खाँणले यो मध्य अधिकांश सम्पत्ति ससुरालीले आफ्नी श्रीमतीका नाममा बकसपत्र गरेको उल्लेख गरेका छन् । पूरै जीवन राजनीतिमा बिताएका खाँणले अर्बौं रूपैयाँ बराबरको सम्पत्ति देखाउँदा स्वयं नेपाली कांग्रेसका नेताहरू पनि चकित परेका छन् ।

मन्त्री खाँणले सार्वजनिक गरेको सम्पत्तिमा नगद, जग्गा जमिन, सुन, चाँदी, शेयर, बैंक खातामा रहेको बचतलगायत उल्लेख गरिएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा देखाइएका घर र घडेरी मात्र अर्ब रूपैयाँ भन्दा बढीका छन् । उनले सम्पत्ति विवरण देखाए पनि स्रोतमा भने शंका गर्ने उल्लेख्य स्थान छाडेका छन् ।

उनले देखाएका धेरैजसो सम्पत्तिको स्रोतमा उनले ससुरालीबाट प्राप्त भएको बताएका छन् । खाँणले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफू, आफ्नी श्रीमती मञ्जु खाँण र बुवा–आमाको नाममा रहेका जग्गा जमिन उल्लेख गरेका छन् ।

खाँणले काठमाडौं, ललितपुर, रूपन्देही, चितवन, धनुषामा गरी एक अर्बभन्दा बढी मूल्य बराबरको घर–घडेरी रहेको उल्लेख गरेका छन् । खाणले दिएको विवरणमा काठमाडौं र ललितपुरमा मात्र ३ रोपनीभन्दा बढी जग्गा देखिएको छ । सम्पत्ति सार्वजनिक गर्दा मन्त्री र सार्वजनिक पद धारण गरेका व्यक्तिहरू सबैजसोले ससुरालीबाट प्राप्त भन्ने गरेका छन् ।

काठमाडौं र ललितपुरमा रहेको सबै घर–घडेरीहरू देखि बुटवलका केहि जग्गा जमिन ससुरालीबाट प्राप्त बहेको उनले बताएका छन् । त्यतिमात्र होइन उनीसंग भएको सुनचाँदीको स्रोतमा पनि उनले ससुरालीबाट प्राप्त भएको बताएका छन् ।

मन्त्री खाणको श्रीमती मञ्जु खाँणको नाममा धरैजसो सम्पत्ति देखाएका छन् । सम्पत्ति विवरणअनुसार मञ्जुको नाममा काठमाडौं महानगरपालिका–३५ मा मात्र १७ आना जग्गा छ । मन्त्री खाणको आफ्नै नाममा काठमाडौंमा जग्गा–जमिन देखाएका छैनन् । काठमाडौं र ललितपुरमा रहेको जग्गाको सम्पत्ति श्रीमतीको नाममा भएको देखाएका छन् ।

त्यसका अलावा मन्त्री खाँणले देखाएको सम्पत्तिमा ललितपुरको भैंसेपाटीमा परिवारको एक रोपनी १२ आना जग्गा भनिएको छ । यो जग्गा पनि श्रीमतीकै नाममा देखाइएको छ । आश्चर्यको कुरा त के छ भने यो सबै जग्गा पनि श्रीमतीले बुवाबाट वकसवापत पाएको उल्लेख छ ।

काठमाडौं महानगरपालिका–३५ मा ४ आना २ पैसामा क्षेत्रफलमा एउटा घर पनि उनले देखाएका छन् । त्यसको स्रोत भने उनले ससुराली बताएका छैनन् । उनले त्यो जग्गा भने घरजग्गा खरिद बिक्रीबाट प्राप्त गरेको बताएका छन् ।

त्यतिमात्र होइन खाँणसँग बुटवलमा एक कठ्ठा क्षेत्रफलमा फैलिएको एकतले घर, बुटवलकै मैत्रीपथमा साढे दुई तले घर, रूपन्देहीको साविक करहिया गाविसमा ५ कठ्ठा जग्गा र दुई तल्लाको घर भएको देखिएको छ । रूपन्देहीकै अन्य विभिन्न स्थानमा गरेर खाणसँग करिब चार बिगाहा जग्गा भएको खुलेको छ ।