बालुवाटारमा कोरोना औषधिको चर्चा: अचम्म परे सांसदहरु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बालुवाटारमा कोरोना औषधिको चर्चा: अचम्म परे सांसदहरु



काठमाडौं – सत्तारुढ नेकपा सांसद प्रेमप्रसाद तुलाचनले एक धर्मगुरुको हवाला दिँदै नेपालको हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना भाइरस (कोभिड–१९) को औषधि हुन सक्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने समयमा महको प्रसंग झिकेका हुन् । उनले धर्मगुरुकै सुझावअनुसार प्रधानमन्त्री केपी ओलीलाई महको औषधि हुनेबारे अनुसन्धान गर्न महसहित लिखित निवेदन बुझाएको बताए । उनले त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालालाई पनि दिएको उल्लेख गरे ।

नेपालमा कोभिड–१९ को असरले प्रभाव पारिराखेको अवस्थामा वैशाख २६ गते मुस्ताङ जिल्लाबाट एक जना धर्मगुरुले संक्रमित कोही छ भनेपछि माननीयज्यू हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस्, त्यसबाट उपचार सम्भव छ भन्नेकुरा सुझाव आएको थियो’, उनले भने, ‘त्यो अनुसार मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई लिखित रुपमै परीक्षण गरिदिनुस् भनेर, स्वास्थ्यमन्त्रीज्ुलाई पनि बोधार्थ दिएर परीक्षणका लागि दिएको कुरा पनि म जानकारी गराउन चाहन्छु ।’

उनले औषधि हुने विश्वासमा तल्लो मुस्ताङस्थित सम्धीको घरबाट ल्याएको मह प्रधानमन्त्रीलाई बुझाएको उल्लेख गरे । तुलाचनले परीक्षणबाट पोजेटिभ रिजल्ट आएको खण्डमा विश्वभर महामारीका रुपमा फैलिएको कोरोना निन्त्रणमा आउने र नेपालमा पाइने प्राकृतिक महले विश्व बजार ढाक्ने दाबी गरे ।

उनले महसहित नेपाली जडिबुटी कोरोनाको औषधि हुन सक्ने भन्दै रिसर्च सेन्टर स्थापना गरी अनुसन्धान गर्न माग गरे । संसारभरका घगडान वैज्ञानिकहरु कोभिड–१९ को भ्याक्सिन बनाउन सफल हुन नसकिरहेका बेला सांसद तुलचानको तर्क सुनेर सांसदहरु अचम्ममा परेका थिए ।