बालुवाटार बैठकको सहमति: खाका बनाउन चार नेतालाई जिम्मा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बालुवाटार बैठकको सहमति: खाका बनाउन चार नेतालाई जिम्मा



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता सकेर उनी निस्किएका हुन् ।

आज बसेको बैठकले चार जनालाई सहमतिका लागि बुँदाहरू तयार गर्न जिम्मा दिइएको छ । स्रोतका अनुसार सोमबार विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्ने सहमति भएको छ ।

सहमतिको खाका तयार गर्न ओली पक्षबाट बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिइएको छ ।

त्यसैगरी आपसमा दुरी बढाउने गरी सडकमा जुलुस प्रदर्शन र एकअर्कालाई सार्वजनिक गाली गलौज गर्ने कार्यहरु पनि रोक्ने सहमति भएको बताइएको छ ।

नेकपाभित्र बढ्दै गएको आन्तरिक किचलोका कारण पार्टी विभाजनको यात्रातर्फ अघि बढेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको यो छलफललाई निकै महत्वका साथ हेरिएको थियो ।

बैठकमा दुवै अध्यक्षले आ–आफ्नो पक्षका दुई÷दुई जना नेताहरु सहभागी गराएका थिए । प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा बैठकमा थिए भने ओली पक्षबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल उपस्थित थिए ।

भोलिको बैठकअघि पुनः अध्यक्षद्वय बसेर छलफल गर्ने तय भएको छ । अर्थपूर्ण रुपमा हेरिएको आजको बैठकमा सहमति खोज्ने प्रयास भएको बताइएको छ । पार्टीभित्र चुलिँदै गएको विवादका कारण प्रधानमन्त्री ओली पार्टी विभाजनतर्फको यात्रामा लागेको भन्दै पार्टीबाटै आलोचना सुरु भएको छ ।