बालुवाटार बैठक सकियो, शितलनिवास हिँडे प्रचण्ड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बालुवाटार बैठक सकियो, शितलनिवास हिँडे प्रचण्ड



काठमाडौं । आन्तरिक विवाद बढेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको पहल सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहालसहितका नेताहरुबीचको बैठकले एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो । छलफलम ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपनि विवाद थप उचाइमा पुगेको छ । विवादकै कारण स्थायी समिति बैठक शनिबारसम्म स्थगित भएको छ भने योबीचमा सहमति जुटाउने जिम्मा ओली र प्रचण्डलाई दिइएको छ ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँगकाे छलफलपछि बालुवाटारबाट बाहिरिएका छन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ लागेकाे बालुवाटार स्राेतले जनाएकाे छ।