वाम एकता लोकतान्त्रिक व्यवस्था नेपाल राष्ट्रकै लागि अनिष्ट हो :कांग्रेस नेता पौडेल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वाम एकता लोकतान्त्रिक व्यवस्था नेपाल राष्ट्रकै लागि अनिष्ट हो :कांग्रेस नेता पौडेल



काठमाडौं/असोज १८  । नेपाली कांग्रेसले वाम एकताका नाममा सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीचको चुनावी तालमेल र एकताले लोकतान्त्रिक व्यवस्था र राष्ट्रलाई नै अनिष्टतर्फ धकल्न लागेको आरोप लगाएको छ।

आजको नागरिक दैनिकमा खबर छ–एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच पार्टी एकता गर्ने गरी चुनावी तालमेलको घोषणा भइरहेका बेला मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र शीर्ष नेताहरूको बैठकले वामपन्थी शक्ति र लोकतान्त्रिक शक्तिबीच ध्रुवीकरण गरी मुलुकलाई फेरि अस्थिरतातर्फ धकल्ने प्रयास हुन लागेको ठहर गरेको हो ।
‘वाम एकता लोकतान्त्रिक व्यवस्था र नेपाल राष्ट्रकै लागि अनिष्ट हो,’ बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले नागरिकसँग भने, ‘यो नाङ्गो र अवसरवादीको अनुपम नमुना हो।’

कांग्रेस बैठकले लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिसँगको तालमेलका लागि प्रयास गर्ने निष्कर्ष निकालेको छ । यसका लागि बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठकमा लोकतान्त्रिक शक्तिसँग कसरी चुनावी तालमेल गरेर जाने भन्ने विषयमा छलफल हुनेछ।

नेता पौडेलले कार्यसम्पादन समितिको बैठकले अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने जानकारी दिए । ‘वाम एकता संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने षड्यन्त्र हो,’ पौडेलले भने, ‘आन्दोलनका उपलब्धिलाई संरक्षण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न अब लोकतन्त्रवादीबीच एकता अनिवार्य छ।’

लोकतन्त्रवादी र कम्युनिस्टबीच धु्रवीकरण गराएर मुलुकलाई फेरि अस्थिरतातर्फ धकल्ने खेल सुरु भएको आरोप लगाउँदै पौडेलले भने, ‘दुई तिहाइ ल्याएर संविधान फेर्ने कुरा जसरी आइरहेको छ त्यो मुलुकको हितमा छैन ।’
सबै पक्षलाई एकताबद्ध गर्दै मुलुकलाई आिर्थक समृद्धिको बाटोमा लैजान कांग्रेस नेतृत्वबाट मात्र सम्भव हुने दाबी पौडेलले गरे।

कांग्रेस नेता महेश आचार्यले सरकार पक्षीय गठबन्धनमा रहेको पार्टीले प्रतिपक्षमा रहेको पार्टीसँग चुनावी तालमेल गर्नु अस्वाभाविक भएको टिप्पणी गरे।

‘संविधान कार्यान्वयन र संघीय संरचनाअनुसारको सम्पूर्ण निर्वाचन सम्पन्न गर्ने अन्तिम संघारमा पुगेको सन्दर्भमा मुलुकमा अस्थिरता निम्तिने गरी कुनै पनि प्रकारको राजनीतिक घटनाक्रमको विकास नहोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘हामी माओवादी र एमालेका साथीहरूलाई भन्छौं, सबैको ध्यान चुनाव शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने र आर्थिक समृद्धितर्फ हुनुपर्छ।’

एमाले, माओवादी र नयाँ शक्तिलगायतका वामपन्थी शक्तिबीचको ध्रुवीकरणबारे टिप्पणी गर्दै कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘नेपालमा कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको ध्रुवीकरण हुनु शुभ संकेत होइन।’

कांग्रेस नेताहरूको बैठक चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार दिउँसो दोस्रो पटक प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । दाहालले कांग्रेस वा प्रधानमन्त्रीसँग असन्तुष्टि भएर नभई वाम एकताका लागि एमालेसँग मिलेर जाने सहमति भएको जानकारी दिएका थिए ।

कांग्रेस सभापति देउवाले आफू र आफ्नो दललाई धोका भएको गुनासो गरेका थिए । दाहालले वाम एकता गरेर जाने आफूलाई पार्टीभित्रबाट दबाब परेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका थिए।

माओवादी अध्यक्ष दाहालले दुई दलबीच भएको सहमतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘वर्तमान सरकारले तोकेको समयमा प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गराउनेछ।’
अध्यक्ष दाहाल मंगलबार बिहान पनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री देउवाले कांग्रेससँग चुनावी तालमेल गरेर अघि बढ्न दाहाललाई प्रस्ताव गरेका थिए।

दाहालले एमालेसँग दिउँसो हुने छलफलपछि मात्र आफुले केही भन्न सक्ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।
त्यसपछि लोकतान्त्रिक शक्तिबीचको तालमेलका लागि कांग्रेसले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग बेग्लाबेग्लै छलफल गरेको थियो।

नेताहरूले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका छन् । कांग्रेसले बुधबार बिहान राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजन भएर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) सँग छलफल गर्ने भएको छ