वाम गठबन्धनका मुख्य संयोजक प्रचण्ड र केपी ओलीलाई कोरियाबाट खुल्ला पत्र - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वाम गठबन्धनका मुख्य संयोजक प्रचण्ड र केपी ओलीलाई कोरियाबाट खुल्ला पत्र



केशव पोखरेल

आदरणीय पूर्व प्रधानममन्त्रीहरु  एंव बाम गठबन्धनका संयोजक द्वय  पुष्पकमल दाहाल “प्रचण्ड” र केपि ओली  ज्यु दुवै जनालाई हार्दिक अभिवादन । सर्वप्रथम त यहाँहरु दुबैजनालाई बधाई दिन चाहन्छु, आजभोलि विश्वव्यापि रूपमा तपाईँहरूको वाम एकताले चर्चाको प्रथम श्रेणी ओगटन सफल भएकोमा ।

तपाईँहरूले गर्नुभएको वाम गठबन्धनको बारेमा केही लेख्न मन लाग्यो र कलम चलाऊदै छु । तपाईहरु जस्ता वरिष्ठ व्यक्तिसम्म म बबुराको यो पत्र पुग्दैन होला पुगेपनि पढने फुर्सद नहोला, तपाईरुका कार्यकर्तामध्ये कसैले न कसैले पढने छन् र तपाईंहरुसामु पुर्‍याउने छन् भन्ने आशा राखेको छु । तपाईरुलाई यो खुल्ला पत्र ,तपाईहरुले भन्ने गरेको समुन्नत देश अझै नबनेकोले आफ्नो जन्मभुमि र घरपरिवार छोडेर सात समुन्द्रपारि बिरानो देशमा १२ घन्टाको लगातार ड्युटि गरेर सुत्ने समयलाई केही छोट्टाएर लेख्ने जमर्को गर्दै छु ।

केही दिन अघिसम्म पानी बाराबारको स्थितिमा रहेका तपाईहरु एकाएक यस्तो समझदारी गरी एकले अर्काको आलोचना नगर्ने भन्ने लगाएतमा कसरि सहमति गर्न पुग्नु भो? आफ्नै सोंच विचारले हो या तपाईहरुले भन्ने गरेको विदेशी प्रभुको इसारामा वाम गठबन्धन गरी सात बुँदे सम्झौता गर्नु भएको हो? आगामी दिनमा तपाईहरुका सिद्धान्त, भावी कार्ययोजनाहरु पनि त एउटै हुने होलान्? एमाले र माओवादीले गरेका इतिहासका सम्पूर्ण राम्रा नराम्रा कामहरूको पनि बराबर हिस्सा हुने त होला नि हैन?

केपि बओली  ज्यु तपाईँ र तपाईँका कार्यकर्ताले भन्ने गरेको ‘जंगलि’को ऊपनाम अनि उसले गरेको दश बर्से जनयुद्द र सत्र हजार सर्वसाधारणको हत्या पनि जायज नै थियो भन्ने सिरोधार्य गरी बाम गठबन्धन गर्न पुग्नु भएको त होला नि हैन? अनि कैलाली घटनाको मुख्य आरोपिलाई सम्मान गर्ने प्रचण्ड र ऊनको पाटीको त्यो कदम को बारेमा पनि त चित्त बुझेहोला अनि म जस्ता आम सर्वसाधारणहरुलाई त्यसको जबाफ के दिनुहुन्छ ?

अनि प्रचण्ड ज्यु तपाईँ र तपाईँका कार्यकर्ताले भन्ने गरेको ‘ऊखाने’सँग हातेमालो गरेर हिड्न थाल्नुभएको छ, ती ऊखानहरु ऊखानको लागि मात्र नभएर वास्तविकतामै उतारिदिनुहुन्छ होला नि हैन?? अनि तपाईँको पार्टी र कार्यकर्ताले मदन भन्डारिको हत्या एमालेबाटै भएको हो भन्दै हिडने गर्नु हुन्थ्यो, अब बाम गठबन्धनपछि यसको सत्यता पत्ता लगाऊनतिर लाग्नुहुन्छ कि, जसले गरेको भए पनि सान्दर्भिक नै थियो भनेर गुपचुपनै राख्नुहुन्छ?

मुख्य शङ्काको विषय त के हो भने तपाईँहरूको बाम गठबन्धन देशलाई साँच्चै सम्वृद बनाऊनको लागि हो या दुई पार्टी मिलिसकेपछि आगामी प्रदेश सभा र प्रतिनिधि सभा को निर्वाचनमा दुईतिहाई मत आऊला अनि देशको मुख्य बागडोर हाम्रो हातभन्दा अन्त फुत्किन पाऊदैन, अनि देशलाई बेचेर वा विभिन्न योजनाहरू बनाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लाग्नु भएको हो?

तपाईहरु बिचमा बाम गठबन्धको सात बुँदामा दस्ताखत भएपछि दुवै पार्टीको चुनावी घोषणा पत्र पढें । घोषणा पत्र पढदा लाग्यो ,साँच्चै दुईपार्टिको एकिकरण पछि प्रचण्डले भन्ने गरेको स्विचरल्याण्ड र केपि बलिले भन्ने गरेको हावाबाट बिजुली अनि प्रत्येक घरको चुलोमा पाईपबाट ग्यास वितरणको लागि अब धेरै समय कुर्नु नपर्ला ।

माआेबादिको चुनावी घोषणापत्रको ‘वेरोजगारिको अत्य’ शीर्षकमा भनेको रहेछ, “१५ वर्षमा देशभित्र सबैलाई राेजगारिको व्यवस्था गरेर बेरोजगारिको अन्त्य र नेपाली युवाहरू विदेशमा रोजगारीको लागि जानु पर्ने बाध्यताको अन्त्य गरिने छ ।”त्यसै गरी एमालेको घोषणापत्रको ‘गाउँ गाँउमा सहकारी घर घरमा रोजगारी ‘ शीर्षकमा उल्लेख गरेको रहेछ “एमालेको सरकार बनेको तीन वर्षमै एक घर एक रोजगारी सुनिश्चित गरिने छ । १० वर्ष भित्रमा १८ वर्ष पुगेका प्रत्येक नागरिकहरुलाई रोजगारी पाऊनेगरि कार्ययोजना सुरु गरिने छ ।” यो पढिसकेपछि एक छिन सोंच्न बाध्य भएँ र सोध्न मन लाग्यो, यस्ता झुटा आस्वासन देखाएर कहिलेसम्म भोट माग्दै हिड्नु हुन्छ?

अब दुई पार्टीको गठबन्धनले यही घोषणा पत्रमा भनेझैं साँच्चै देशका लागि केही केही गर्नुहुन्छ कि, आफ्नो खल्ति मात्र भर्ने काम गर्नुहन्छ, भन्ने दिन हेर्न आतुर छौ । आम जनताहरुले तपाईंहरुबाट ठुलो आशा केही पनि राखेका छैनन् केवल देशलाई समुन्नत बनाई रोजगारीको सृजना गरिदिए पुग्छ ,१८ वर्ष पुगेका आम नागरिकहरू हातमा राहादानि समातेर पसिना बेच्न परदेशिन नपरोस, जाहाजमा चढेर पसिना बेच्न गएको नागरिक बाकसमा फर्केर आउने दिनको अन्त्य गरिदिए पुग्छ ।

र अन्त्यमा माओवादी र एमालेको गठबन्धनले इतिहास रच्न सफल होस । सात बुँदे सम्झौतामा गरेको दस्ताखतको मसी सुक्न नपाऊदै डा. बाबुराम भट्टराई अलग भएझै तपाईहरु दुईको बिचमा फाटो नआओस ।माथि उल्लेख गरेका कुराहरू गरेर देखाउनु भयो भने भावी पुस्ताले पनि तपाईहरुले देशको लागि गर्नु भएको योगदानको कदर गर्ने छन् ।

मालारानी ३ अर्घाखाँची
हाल दक्षिण कोरिया