नेकपा एसको उपाध्यक्षमा वामदेव, महासचिव बेदुराम - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

नेकपा एसको उपाध्यक्षमा वामदेव, महासचिव बेदुराम



काठमाडौं- राजधानीमा जारी नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले नेतृत्वलाई पूर्णता दिने भएको छ । मंगलबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि पाँच वटा समूह बनाएर आज छलफल चलेको थियो ।

बुधबारको बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाको जवाफ पेश गरेका छन् । बालुवाटारमा मन्त्रिपरिषद् विस्तारको लागि गठबन्धन दलको बैठकमा भाग लिनुपर्ने भएकाले अध्यक्ष नेपाल निस्किएका थिए ।

बैठकमा कमिटी विस्तारको एजेण्डामाथि छलफल अझै बाँकी छ । मिडिया क्षेत्रबाट वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ र बालकृष्ण चापागाईं एकीकृत समाजवादीको केन्द्रीय सदस्य बन्ने सम्भावना छ ।

जारी बैठकमा नेताहरुबीच महासचिवबारे अनौपचारिक छलफल भएको बताइएको छ । महासचिवमा सबैभन्दा धेरै चर्चा नेता राजेन्द्रप्रसाद पाण्डेको भएको छ । अध्यक्ष नेपालले भने केपी ओली बराबर १४ बर्ष जेल बसेका स्थायी समिति सदस्य बेदुराम भुसाललाई बनाउँदा कसो होला ? भनेर सोधेका थिए ।

नेता पाण्डे छिट्टै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकाले भुसालको नाममा सहमति हुने सम्भावना भएको बताइएको छ । पार्टीमा योगदान र वरिष्ठताको हिसाबले पनि भुसाल महासचिव बन्ने सम्भावना रहेको बताइएको छ । बैठकमा उपस्थित एक नेताले बताएअनुसार डा.विजय पौडेलले पनि महासचिवमा चाहना राखेका छन् ।

उपाध्यक्ष भने नेता वामदेव गौतमको हाललाई खाली राखिने भएको छ । उनले पार्टीले जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मानेपछि मात्र आउने बताएकाले हाललाई उपाध्यक्ष खालि राख्न लागिएको हो ।

वामदेव गौतमलाई मनाउन मंगलबार राती उनकै निवासमा केहि नेताहरू पुगेको र लामो छलफल भएको बताइएको छ । टोलीमा बलदेव चौधरी, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल, महेश रेग्मी,शारदा सुवेदीलगायत रहेको बताइएको छ ।