जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छु: वामदेव गौतम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छु: वामदेव गौतम



काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूलाई जुन समुहले अध्यक्ष दिन्छ त्यही समुहमा आफू जाने बताएका छन् । आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउँदै सोमबार उनले यस्तो बताए ।

पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले जुन समूहले अध्यक्ष दिन्छ त्यही समूहमा जाने र पार्टी एकताका लागि प्रयास गर्ने बताए । ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन’, उनले भने, ‘जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।’

उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको प्रष्ट्याए । ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्’, उनले थपे ।

नेता गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताए । ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।’ उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए ।

उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिए’, उनले भने, ‘अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।’ उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने दावी गरे ।

उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताए । दुवै अध्यक्ष सहमत भए मात्र पार्टी फुट्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो समूहमा आउन बोलाइरहेको जानकारी दिए ।