वामदेव गौतम: पाँच वटा पार्टी मिलाएर आजै दल घोषणा, अन्यसँग पनि एकता गर्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वामदेव गौतम: पाँच वटा पार्टी मिलाएर आजै दल घोषणा, अन्यसँग पनि एकता गर्ने



काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतनुअघिदेखिनै नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका नेता वामदेव गौतमले निर्वाचन आयोगमा दर्ता भएका र नभएका गरी पाँचवटा दलसँग मिलेर अलग दल गठन गरेका छन् ।

आज अपरान्ह पत्रकार सम्मेलनबाट पार्टी घोषणा गरिने भएको छ । वामदेवको नयाँ दल नेकपा एकता राष्ट्रिय अभियानको संयोजकमा गौतम नै रहने भएका छन् भने पदाधिकारीमा डिबी कार्की सचिव रहनेछन् ।

अन्य पदाधिकारी नरहने र ६९ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

निर्वाचन आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल,आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादीसँग वामदेवको एकता भएको छ । त्यस्तै आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि यसमा सामेल हुने पाण्डेले बताए ।

उनीहरुसहितको केन्द्रीय कमिटी घोषणा हुँदैछ । सो पार्टीले अन्य कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि वार्ता टोली पनि आजै घोषणा गर्ने पाण्डेले बताए । एकता अभियानसँगै चुनावमा पनि भाग लिने सम्भावना रहेको उनले जानकारी दिए ।