बामदेव र नारायणकाजी हार्दा ओली र प्रचण्ड खुशीले गदगद ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बामदेव र नारायणकाजी हार्दा ओली र प्रचण्ड खुशीले गदगद !



काठमाडौं, २४ मंसिर । वाम गठबन्धन निर्माणका सुत्रधार मानिएका नेताद्धय वामदेव गौतम र नारायणकाजी श्रेष्ठले निर्वाचनमा नराम्रो पराजय व्यहारेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्काल पार्टी एकता गर्ने तयारी भैरहेको बेला एकता संयोजन समितिमा रहेका प्रमुख नेताहरुले नै यसरी पराजय भोगेपछि अहिले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।

अहिले मात्रै होईन, ०६४ सालदेखि नै पार्टी एकताको प्रयासमा जुटेका दुवै नेताले दश वर्षपछि उक्त प्रयासलाई साकार पारेका थिए । नेताद्धय गौतम र श्रेष्ठको लामो उठबसका कारण निर्वाचनअघि नै वााम गठबन्धन सम्भव भएको थियो । गठबन्धनले निर्वाचनमा कांग्रेसलाई नराम्रो हार चखायो ।

यतिमात्रै होईन, अबको पाँच वर्ष कांग्रेसलाई सत्ता बाहिर राख्ने पक्का भयो । एकातिर गठबन्धनको जितले एमाले–माओवादीका शीर्ष नेताहरु खुशी भैरहेको बेला प्रभावशाली नेताद्धय गौतम र श्रेष्ठको हारले आम कार्यकर्तामा निराशा छाएपनि भित्री रुपमा गठबन्धनका प्रमुख नेता एवम् पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भने राहत मिलेको छ । गौतम र श्रेष्ठको हारले उनीहरुलाई ठूलो हाईसञ्चो भएको स्रोतको दाबी छ ।

पार्टी एकतापछि एक जना प्रधानमन्त्री र एक जना अध्यक्ष बन्नेगरि अघि बढिरहेको ओली–प्रचण्डको रथमा एमाले उपाध्यक्ष गौतम बेलाबेलामा ब्रेकर बनेर उभिँदै आएका थिए । गौतम ओली–प्रचण्डको नयाँ तयारीमा सँधै घाँडो बन्दै आएका थिए । ओली र प्रचण्ड दुवै नेता गौतमको पराजयबाट भित्री रुपमा खुशी रहेको एक शीर्ष नेताले जनाए ।

यता श्रेष्ठले पनि चुनाव जितेको भए पार्टीभित्र आफूलाई अप्ठ्यारोमा पार्ने आशंकामा थिए प्रचण्ड । तर, उनले पनि पूराना सहकर्मी कमरेड एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग चुनाव हारे । श्रेष्ठको यो हारले प्रचण्डलाई ठूलो जितको महशुस भएको छ ।

वामदेवले आफू पार्टीको अध्यक्ष बन्न नसक्ने बुझेर नै एमाले–माओवादी केन्द्रवीचको एकतापछि ओली र प्रचण्ड दुवै नेतालाई कार्यकारी प्रमुखमा राखेर आफूचाहीँ सरकारको नेतृत्व गर्ने तयारी गरेका थिए । गौतमले यसबारेमा प्रचण्डसँग लामै बहस तथा छलफल गरेका थिए । तर, उनको उक्त चाहनामा यो पराजयले नराम्रो धक्का लगाएको छ ।