कर्मचारी तथा जनप्रतिनिधिकै मिलेमतोमा वन फँडानी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कर्मचारी तथा जनप्रतिनिधिकै मिलेमतोमा वन फँडानी



धनगढी । जेठ १४ गते गौरीगंगा नगरपालिका–१ गोप्कास्थित पशुपति सामुदायिक वनले डिभिजन वन कार्यालय धनगढीबाट वैज्ञानिक वनका लागि कटान आदेश पायो।

जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रूख कटान, संकलन, ढुवानी तथा ओसारपसार रोक्न र कटान भइसकेका गोलिया तथा काठ जहाँ जस्तो अवस्थामा छ त्यस्तै राख्न सबै वन कार्यालयलाई परिपत्र ग-यो।

जेठ १५ देखि १८ सम्म विभिन्न सञ्चारमाध्यममा मन्त्रिपरिषद्को निर्णय आएको समाचार थाहा पाउँदापाउँदै त्यसलाई लत्याउँदै सामुदायिक वन पदाधिकारी, ठेकेदार कम्पनी, सबडिभिजन वन कार्यालयका कर्मचारीले रूख कटानी गर्न थाले।

वन संरक्षणको जिम्मा लिएका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, ठेकेदारलगायतको मिलेमतोमा खुलमखुला कसरी वन फँडानी भइरहेको छ भन्ने यो उदाहरणमात्रै हो। कोरोना नियन्त्रण र रोकथामका लागि देशमा जारी लकडाउनका बेला कैलाली र कञ्चनपुरलगायतका वनमा व्यापक फँडानी भइरहेको छ। लकडाउन सुरु भएयता वन तस्करबाट फँडानी भइरहेको पनि पछिल्लो समय वैज्ञानिक वन व्यवस्थापनका नाममा जिम्मेवार व्यक्तिहरूकै संलग्नतामा वन सक्ने काम भएको आजको नागरिक दैनिकमा धनगढीबाट दिलबहादुर छत्याल र पुष्पराज जोशीले यो समाचार लेखेका छन् ।

‘वैज्ञानिक वन व्यवस्थापनका नाममा वन माफिया, वन कर्मचारी, केही जनप्रतिनिधि, ठेकेदार, केही राजनीतिक दलका नेता–कार्यकर्ता मिलेर वन सिध्याउँदैछन्,’ कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चूडामणि भट्ट भन्छन्, ‘अर्बौं रुपैयाँको चलखेल हुने गरी वन फँडानी हुँदा मुटु काटिएजस्तै भइरहेको छ।’

वन फँडानीबारे जनस्तरबाट व्यापक विरोध भएपछि मन्त्रिपरिषद्को बैठकले समेत वैज्ञानिक वनका नाममा हुने फँडानी रोक्नुपर्ने निर्णय गरे पनि कैलाली र कञ्चनपुरका विभिन्न साझेदारी, सामुदायिक र राष्ट्रिय वनमा फँडानी रोकिएको छैन।

धनगढी, पहलवानपुर र महेन्द्रनगरका गरी तीनवटा डिभिजन वन कार्यालय र प्रदेश वन निर्देशनालयले वैज्ञानिक वनका नाममा फँडानी गर्न सघाएको भन्दै स्थानीयले सामाजिक सञ्जाललगायतमा व्यापक विरोध जनाएका छन्। सुदूरपश्चिम क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यहरूले संसद्मा समेत वैज्ञानिक वन बनाउने नाममा फँडानी भइरहेको विषय उठाएका छन्। ‘वन माफिया, प्रशासन, कर्मचारी र प्रदेश सरकारको मन्त्रालयलगायतको संलग्नतामा वनमा रूख काट्ने काम भइरहेको छ,’ कैलाली–५ का प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले भने, ‘मलगायत सांसदहरूले सदनमा पनि अवाज उठाएका छौं।’ संघीय सरकारले रूख कटानी बन्द गर्न निर्देशन दिँदा पनि केही ठाउँमा नरोकिएको उनको भनाइ छ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा वैज्ञानिक वनका नाममा कटानी आदेश पाएका तर पूरै रूख काटिनसकेका सामुदायिक वनले रातको समयमा रूख कटानी गर्ने गरेका छन्। उनीहरूले रूख कटानी गरेर गोलिया बनाउनेसम्मका काम गर्ने गरेका छन्।

स्रोतका अनुसार वैज्ञानिक वन बनाउन समुदायमा सहमति जुटाउनेदेखि लिएर फाइल खडा गर्ने र कन्सल्टेन्सीसम्मका सबै काममा ठेकेदारले लगानी लगाउने गरेकाले अहिले आएर उनीहरूकै अग्रसरतामा भित्रभित्रै काम भइरहेको छ। ‘वन कर्मचारीले रूख कटानी भएकै छैन, सबै रोकेका छौं भन्छन्,’ स्रोतले भन्यो, ‘वनमा भित्रभित्रै धमाधम रूख काटिएका छन्।

’ गौरीगंगा नगरपालिका–१ स्थित मौवाडी सामुदायिक वनमा पनि पछिल्लो समयमा वन कटान भएको थियो। यस्तै बिहीबार दिउँसोसम्म हरियाली सामुदायिक वन चुरे गाउँपालिका–४ बाटेगडामा पनि रूख कटानी भइरहेको बताउँदै नाम नबताउने सर्तमा एक उपभोक्ताले भने, ‘यहाँ त अहिलेसम्म रूख कटानी भइरहेको छ, उपभोक्ताले विरोध गर्दा उल्टै समितिबाटै मार्ने धम्की आउँछ।’ वन माफियाका आडमा सामुदायिक वनका पदाधिकारीहरू नै उपभोक्तालाई धम्क्याउँदै निर्धक्कसँग रूख कटानी गरिरहेको उनले बताए।

ढिलोगरी कटानी आदेश पाएको कैलालीको मोहन्याल गाउँपालिका–३ सुगरखालस्थित चुरेमालिका सामुदायिक वनले पनि धमाधम रूख कटानी गरिरहेको छ। वनभित्रै कटेरो बनाएर ठेकेदारकै संरक्षणमा सामुदायिक वनका पदाधिकारीको संलग्नतामा रूख कटान भइरहेको हो। सँगै कटानी आदेश पाएको छिमेककै देउराली सामुदायिक वनले कटानी गरिसकेर गोलिया बनाउन र ढुवानी गर्न कामदार परिचालन गरेको छ।

यहाँ मात्रै होइन मोहन्यालका अन्य सामुदायिक वनमा पनि अहिले कटानी जारी छ। वडा नम्बर तीनमा मात्रै दर्जनौं सामुदायिक वन खडा गरिएका छन्।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित सिद्ध सरस्वती बेलपानी सामुदायिक वनमा पनि अवैध रूपमा १७ वटा सालका रूख काटिएका छन्। बुधबार बिहानै आरासहित जंगल छिरेका काठ माफियाहरूले धमाधम रूख कटानी गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए।

स्रोतका अनुसार आफूहरूलाई काठ कटानीमा कसैले पनि रोक्न नसक्ने भन्दै ठेकेदार र सामुदायिक वनका पदाधिकारी जंगल छिरेका थिए। उनीहरूले धमाधम रूख काट्न थालेपछि स्थानीयले विरोध जनाएका थिए। स्थानीयको विरोधपछि काठ ठेकेदार र वनका पदाधिकारी पछि हटेको स्रोतले बतायो। तर रातको समयमा भने रूख कटान जारी रहेको बताइएको छ। ‘रातभर जंगलमा आरा चल्छ,’ स्रोतले भन्यो, ‘वनका पदाधिकारी, वन कर्मचारी र ठेकेदार मिलेपछि उपभोक्ताको के नै लाग्छ र ?’

सामुदायिक वनका अध्यक्ष गोरखबहादुर रोक्का मगरले आफूलाई रूख कटानी रोक्नेबारे कुनै जानकारी नभएको बताए। ‘वैज्ञानिक वन बनाउने भन्दै डिभिजन वन कार्यालय धनगढीबाट छपान आदेश लिएको र सोहीअनुसार रूख कटानी जारी राखेका छौं,’ उनले भने। अहिलेसम्म डिभिजन वन कार्यालय धनगढी, सबडिभिजन कार्यालय अत्तरियाले आफूहरूलाई रूख कटानी रोक्न आधिकारिक रूपमा पत्राचार नगरेकाले सुक्खा रूखहरू काटिरहेको बताए पनि भित्रभित्रै आला रूख नै बाँकी नराखेको स्रोतले बतायो।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले सबडिभिजन कार्यालय अत्तरियामा बुझेर रूख कटान रोक्न लगाउने बताए। स्रोतका अनुसार डिभिजन वन, सबडिभिजन वनका कर्मचारी, ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा पछिल्ला दिनमा कैलालीमा वैज्ञानिक वनका नाममा कटानी जारी छ। मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै अमूक शक्तिको आडमा वन माफियासँग मिलेर धमाधम रूख कटान भइरहेको स्रोतको भनाइ छ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले यही जेठ १८ गते आफूमातहतका सबै सब डिभिजन कार्यालयलाई सम्बन्धित सामुदायिक वनलाई काठ कटानी, ढुवानी रोक्न पत्राचार गरिसकेको बताए। ‘हामीले सबैलाई पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘यदि अझै काठ कटानी रोकिएन भने वन ऐनअनुसार मुद्दा चलाउँछौं।’

प्रदेश वन निर्देशनालयका निमित्त निर्देशक हेमराज विष्टले वैज्ञानिक वनका नाममा व्यापक वन फँडानी र रूख कटानी भइरहेको भन्ने सही नभएको उल्लेख गर्दै संघीय सरकारले वैज्ञानिक वन काट्न रोक्ने गरेको निर्णय घुमाउरो रूपमा गलत रहेको बताए। ‘म सरकारको कर्मचारी भएकाले सरकारले गरेको निर्णय गलत भन्दिनँ तर वैज्ञानिक वनका नाममा वन फँडानी भयो भनेर सरकारलाई गलत रिपोर्टिङ भएको छ,’ उनले भने। कर्मचारी, प्रशासन, वन माफिया लगायतको संलग्नतामा वन फँडानी भइरहेको भन्ने गलत भएको उनले जिकिर गरे। सरकारको निर्देशनपछि वन फँडानी भइरहेको भन्ने पनि गलत भएको उनको दाबी छ। फोटो : प्रिन्स विक