बन्दको आव्हान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बन्दको आव्हान



शर्मिला अधिकारी

प्रजातन्त्र व्यवस्था गएर आएको अहिलेको गणतन्त्र संसदिय व्यवस्थामा जनताले टड्कारै चाल पाएको एउटा परिवर्तन “बन्दको आव्हान” हो। कुनै पार्टीले सरकारमा बसेपछी जनताको शक्ति र सुबिधा बढाउन केके काम गर्‍यो त्यो भन्न अलिक गाह्रै छ,तर त्यही पार्टीले सरकारबाट ओर्ले पछि जनतालाई प्रभावित पार्न बन्दको आव्हान गर्छ अर्थात कुनै पार्टीले सरकार चलाउदा भन्दा सरकार चलाउन नपाउदा सबै जनतालाई प्रभावित पार्ने कार्यक्रम दिन जान्दो रहेछ।

पार्टीले सरकार चलाएको भन्दा सडक चलाएको सफलतामा बढी गर्व गर्नुपर्ने रहेछ। “जुन पार्टीले दुई सय पाँच सिट मध्ये एक सिटमा मात्रै उम्मेदवारि दिएकोछ,उसले पनि मैले जिते भने यो-यो कार्यक्रम गर्छु भनेर घोषणापत्रमा लेखेको छ।”विडम्बना यहि छ..सरकार चलाएर जनताको भलो गर्नु भन्दा स्वास्निछोराछोरिको गलो सिंगार्नमा जुन पार्टीका नेताहरु लागे,तिनिहरुले गरेको बन्दको आव्हान चाहिँ कसरी सफल भइरहेकोछ? सय सिट र पचास सिट जित्ने पार्टीले गरेको बन्दको आव्हान सफल भएकोमा त केही आश्चर्य छैन:त्यहाँ त दस सिट जित्ने पनि,पाँच सिट जित्ने पनि,एक सिट जित्ने पनि र एउटै सिट जित्न नसक्नेले गरेको बन्दको आव्हान पनि सफल भइरहेको छ।

जुन पार्टीलाई जनताले संसदमा पठाउन उचित ठानेनन्,त्यसै पार्टीले गरेको बन्दको आव्हान चाहिँ जनताले कसरी साथ दिईरहेका छन् ?? त्यस्तो बन्दको कार्यक्रम सफल भएकोमा ती पार्टीका नेताहरु हामिले कत्रो जनसमर्थन पायौं भनेर घोक्रो फुलाएर घमण्डले पडक्क फुट्न आटेका छन्।म भने लाटी दर्शन भइरहेकी छु। कुनै हाकिमको तागत हेर्नुपर्यो भने उसले आफ्नु मातहतका कर्मचारिहरुलाई कति सुबिधा,प्रोत्साहन,पुरस्कार र पदोन्नति दियो भने त्यो हेरिदैन,उसले कति जनाको तलब कट्टा गरिदियो,बिदा कटाईदियो,दण्ड र दु:ख दियो त्यो चाहिँ हेरिन्छ र हाकिमहरु पनि आफू शक्तिशाली छु भन्ने फुई देखाउन पुरस्कार दिन भन्दा दण्ड दिन नै ताउरमाउर गरिरहेका देखिन्छन्।हाकिम र शक्तिशाली पद ओगट्नेहरुलाई उनिहरुले फर्काउने गरि जनताले नमस्ते गर्ने कारण यहि हो साच्चै हाकिम ज्यु.. तिमीहरूलाई कुर्सिबाट खदारिएका बेलामा नमस्तेको चाप घटेको थाहा हुँदैन?

आफ्नु रक्तचाप र पदचाप घटेको थाहा हुन्छ कि हुँदैन नि?? सरकार चलाउन नपाउने पार्टीहरुले बन्दको आव्हान गरेर आफ्नु शक्ति प्रदर्शन गर्ने चलन नेपालमा फेसन सरह नै चलेकोछ। नेपालका नेताहरु कस्तो नेपाल बनाउन चाहदैछन?नेपाललाई धनी र नेपाली जनतालाई शक्तिशाली बनाउने कार्यक्रम नै उनिहरु सङ्ग रहेनछ,भएको भए,त्यो कार्यक्रम सफल भैहाल्थ्यो नि।नेपाललाई कंगाल र जनतालाई शक्तिहीन बनाउने आत्मघाती बन्दका कार्यक्रमहरु चाहिँ सफल भइरहेका छन्।कार्यकर्ताहरुलाई तोडफोड गर्न तताउन सकेकामा नेता मख्ख छन् र जन-आतंक बढाईरहेका छन्।मेरा सारा पुर्खाहरु र ऋषिहरुको ब्रह्र्म्वर्चस्वलाई थाती राखेर म मेरो मातृ भुमिको कसम खान सक्छु,जुन पार्टीले बन्दको आव्हान गर्छ,त्यसैले यदि बन्दको उल्लंघन गर्नेहरुको सुरक्षाको जिम्मा पनि लिन सक्छ र क्षतिपूर्ति दिने पनि घोषणा गर्छ भने नेपालमा कुनै बन्दको आव्हान पनि सफल हुन सक्तैन।

“नचिनेको चोर बाबू समान” भन्ने नेपाली उखान छ।नेपालमा सुटुक्क फट्याइँ गर्ने बहादुरीको आफै उत्पादन हुन्छ,औधोगिक उत्पादन केही नभए पनि।बिराटनगर उपनगरपालिकाले लगाईदिएको सडक बत्ती धेरै पटक ढुंगाले हानेर फोरिदिराखेको भेटिन्छ।मान्छे नचिने पछि कस्लले फोर्यो-फोर्यो। त्रिभुवन विश्वविद्यालयमा मानविकी कक्षको प्रवेशद्वारमा शिवरात्रीम आगो लगाइदिएको भोलि पल्ट देखियो। राजनैतिक पार्टीहरुले हडताल र बन्दको आव्हान गर्छन्,साझा बस,ट्रलि बस फोर्ने,डढाउने घटनाहरु घट्छन तर न सरकारले ती राजनैतिक पार्टीहरुलाई क्षतिपूर्ति गराउन सकेकोछ, न आज सम्म त्यो बिध्वन्सकारी फेला परेको छ।यस्ता अपौरुषेय विध्वंसहरु हरेक बन्दको आव्हानमा भैरहेका छन्।

यो गणतन्त्रमा जनता खुशी हुन्छन् भन्ने सुनेकी थिए। खै खुशी जनता? बन्दको दिन दुधको गाडी चल्दैन।कस्को शोकमा जनताले त्यो दिन दूध नहालेको चिया खाने? “मै हु” भन्ने थुप्रै तानाशाहहरु देश छोडेर भाग्न र जनताद्वारा दन्डित भएको मानव जातिको विश्वइतिहास छ,तर पनि सामान्य अबस्थामा एक दुई आतंककारीहरुले सयौ बिमानयात्रीहरुलाई अपहरण गरे झैँ हरेक बन्दको आव्हानमा राजनैतिक पार्टीहरुले शहरको अपहरण गरेका छन्।तर हाम्रो न्यायलयले तिनिहरुलाई सजाय दिएको मैले कतै सुनेकी छुइन। त्यसैले बन्दको आव्हान हरूवा राजनैतिक पार्टीहरुले लगाएको कर्फ्यु हो।