बंगलादेशले यसरी ल्यायो सामाजिक सञ्जाललाई कर तिराउने कानुन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बंगलादेशले यसरी ल्यायो सामाजिक सञ्जाललाई कर तिराउने कानुन



काठमाडौं – बंगलादेशले सामाजिक संजालहरुलाई करको दायरामा ल्याउने कानुन बनाएको छ । चर्चित इन्टरनेट कम्पनीहरु फेसबुक, गुगल, युट्युब र अन्य डिजिटल प्लेटफर्मले आफ्नो व्यवसाय गर्न बंगलादेशमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने भएको छ।

बंगलादेशको जुलाई १ देखि लागू हुनलागेको नयाँ मूल्यअभिवृद्धि कर कानुनअनुसार सामाजिक सञ्जाल तथा अन्य सेवाप्रदायक इन्टरनेट कम्पनीहरु बंगलादेशी कर कानुनको दायरामा आउनुपर्ने भएको हो।

द डेली स्टार अनलाइनका अनुसार त्यहाँको राष्ट्रिय राजस्व बोर्ड (एनबीआर)ले यस्तो कदम चालेको हो। खासगरी अनलाइनमा आधारित विज्ञापनबाट कर नतिरी रकम संकलन गरिरहेको भन्दै बोर्डले उनीहरुलाई करको दायरामा ल्याउन नयाँ कानुन कार्यान्वयनमा ल्याउन लागिएको हो।

नयाँ कानुनअनुसार अब कम्पनीहरुले बंगलादेशमै कार्यालय खोल्नुपर्ने वा भ्याट तिर्न एजेन्टलाई खटाउनुपर्नेछ। बोर्डका भ्याट अनलाइन प्रोजेक्टका निर्देशक सइद मुशाफिकुर रहमानले चर्चित सामाजिक सञ्जाल फेसबुक, भिडियो सेवा दिने युट्युब र खोजी इन्जिन कम्पनी गुगल तथा अन्य डिजिटल प्लेटफर्मबाट सरकारले पाउनुपर्ने कर नपाएको बताए । उनले भने, ‘साँच्चै भन्नुपर्दा यी साइटहरु र प्लेटफर्मका कुनै अफिस वा एजेन्ट बंगलादेशमा छैनन्, तर अब भने यी कम्पनीहरुले यहाँको कानुनअनुसार व्यवसाय गर्नुपर्नेछ ।’

बोर्डका अधिकारीहरुले ‘भ्यालु एडेड ट्याक्स एण्ड सप्लिमेन्टरी ड्युटी एक्ट २०१२’को बुँदा १९ अनुसार फेसबुक, गुगल र युट्युबजस्ता कम्पनीहरुले भ्याटमा दर्ता हुनुपर्नेछ भने सोहीअनुसार आफ्नो स्थानीय कार्यालयबाट कर तिर्नुपर्नेछ। यद्यपि बोर्डसँग उक्त कम्पनीहरुले कति रकमको व्यवसाय गर्छन् भन्ने तथ्यांक छैन। तर उनीहरुले अनधिकृत बाटोबाट पैसा भने लगिरहेका छन्।

बंगलादेशको इकमर्स एसोसिएसन अफ बंगलादेश (इक्याब)का महासचिव मुहम्मद अब्दुल वाहिद तोमलले भने, ‘बंगलादेशमा ५० हजार फेसबुक पेज रहेका छन्, जसले इकमर्स व्यवसाय गर्छन्।’ उक्त कम्पनीहरु इक्याबमा समेत सम्बन्धित नभएको कारण उनीहरुको एकीन तथ्यांकबारे जानकार नभएको उनको भनाइ छ।

इक्याबमा ९ सय ५० सदस्य रहेका छन्। बंगलादेशमा २५ देखि ३० हजारसम्म पार्सेलहरु दैनिक रुपमा गन्तव्यमा पु¥याइने गरिएको छ। इद तथा अन्य पर्वविशेषअगाडि यस्तो सेवा संख्या ४० देखि ४५ हजारसम्म पुग्ने गरेको इक्याबले जनाएको छ। यसबाट वार्षिक रुपमा ८ सयदेखि १ हजार करोड टाकासम्मको कारोबार हुन्छ। मुख्य इकमर्स अर्गनाइजेसनहरुले ८ देखि १० हजार अमेरिकी डलरसम्म मासिक डिजिटल मार्केटिङ गर्ने गरेका छन्।

जुन वर्षको हिसाबले १ लाख अमेरिकी डलरबराबर हुन आउँछ। इक्याबका अनुसार इकमर्स वा फेसबुकमा आधारित व्यवसायमा कम्तीमाा ५ देखि १० डलरसम्मको दैनिक खर्च विज्ञापनबापत हुने गर्दछ। आफ्नो व्यवसाय प्रवद्र्धनका लागि फेसबुकमा उक्त परिमाणमा विज्ञापन गरिने गरेको छ। बजार विश्लेषकहरुले फेसबुक, गुगल, युट्युबजस्ता कम्पनीहरुले विज्ञापनबाटै ठूलो परिमाणमा बंगलादेशबाट आम्दानी गर्ने गरेको बताएका छन्। तर उनीहरु बंगलादेशमा दर्ता भने छैनन्।