बाणिज्य बैंकका कर्मचारी पक्राउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बाणिज्य बैंकका कर्मचारी पक्राउ



 

महोत्तरी

बैंकिङ कसुर गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक बर्दिबास शाखाका दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–८ का ४८ वर्षीय जगदीश काफ्ले र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ का ३५ वर्षीया अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । प्रनाउ पोखरेलका अनुसार पक्राउ परेका दुवै जना राष्ट्रिय वाणिज्य बैंक बर्दिबास शाखाका वरिष्ठ सहायक हुन् ।

महोत्तरीको साढा–२ घर भई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इन्जिनियर श्रीप्रकाश नारायण सिंहको नाममा राष्ट्रिय वाणिज्य बैंक बर्दिबास शाखामा रहेको बचत खाता नम्बर ८०३९४ को तीन वटा नक्कली चेकबाट विभिन्न बैंकबाट ४० लाख रुपैयाँ निकाली उनीहरूले रकम हिनामिना गरेको आरोप छ ।

बदनयितपूर्वक मोटो रकम निकाल्न खोजेको भन्दै उनीहरूविरुद्ध इन्जिनियर श्रीप्रकाश नारायण सिंहले जिल्ला प्रहरी कार्यालय प्रहरी महोत्तरीमा जाहेरी दिएका थिए । जाहेरीलगत्तै आरोपीद्वयलाई बर्दिबासस्थित बैंकबाट प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याएर अनुसन्धान गर्न थालेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । प्रारम्भिक बयानमा दुवैले आफूसहित अन्य पाँच जना कर्मचारी पनि यस कार्यमा संलग्न भएको जानकारी दिएको प्रनाउ पोखरेलले बताए ।

उनीहरूकै सहयोगमा नक्कली चेकबाट राष्ट्रिय वाणिज्य बैंक बर्दिबास शाखाबाट २० लाख रुपैयाँ, सर्लाही जिल्लाको राष्ट्रिय वाणिज्य बैंक लालबन्दी शाखाबाट ५ लाख रुपैयाँ र सिरहास्थित राष्ट्रिय वाणिज्य बैंक मिरचैया शाखाबाट १५ लाख रुपैयाँ निकालेको बयान प्रहरीलाई दिएका छन् । त्यति धेरै रकम अनियमित रूपमा झिकी अनियमितता गरेकोबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
राजाधानी दैनिकमा खबर छ ।