बैंकहरुको ज्यादती बढ्यो:- राष्ट्र बैंक - Himal Post Himal Post
  • १० बैशाख २०८१, सोमबार
  •      Mon Apr 22 2024
Logo

बैंकहरुको ज्यादती बढ्यो:- राष्ट्र बैंक



 

हिमालपोष्ट/काठमाडौ, २७ माघ।

नेपाल राष्ट्र बैंकले ऋणयोग्य रकम अभाव देखाउँदै बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा बेथिति बढाएको बताएको छ ।
नेपाल बैंकर्स संघका प्रतिनिधिसँग बुधबार भएको छलफलमा गभर्नर डा. चिरन्जीवी नेपालले यो समयमा लगानीयोग्य पुँजीको अभाव भएको भन्दै ब्याजदरमा बेथिति देखिएको बताएका थिए।

ऋणयोग्य रकमको अभावमा प्रवाह भइरहेको कर्जामा एकैपटक ५÷६ प्रतिशत विन्दुसम्मको उच्च वृद्धि देखिएको भन्दै उनले यसमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको बताएका छन्  ।
“मुद्दती निक्षेपको ब्याज बढाइए पनि स–सानो र स्थायी प्रकृतिको बचततर्फको ब्याजदर बढेको छैन,” उनले भने “५ प्रतिशत ब्याजदर अन्तर  निष्प्रभावी जस्तै देखिएको हुँदा यसतर्फ राष्ट्र बैंक सोच्न बाध्य भएको छ ।”

वित्तीय क्षेत्र विकास रणनीति अनुसार पनि आर्थिक वर्ष २०७७÷०७८ सम्ममा यस्तो अन्तर ४.४ प्रतिशत भन्दा कम गर्ने लक्ष्य अनुरुप अघि बढ्नुपर्ने देखिएको उनले स्पष्ट पारे ।
केही बैंक वित्तीय संस्थाबाट भएको असामान्य र अस्वभाविक व्यवहारका कारण सर्वोच्च अदालतको आदेश बमोजिम १४ बुँदामा निर्देशन जारी गर्नुपरेको  उनले स्पष्ट पारे ।
“बैंक तथा वित्तीय संस्थाले स्वच्छ, पारदर्शी एवम् निष्पक्ष व्यवहार नगरेको कारण यो स्थिति देखापरेको हो,” बैकर्ससँगको छलफलमा नेपालले भने, “ऋणी र ऋणसँग सम्बन्धित लिखत तमसुक एवम् प्रमिसरी नोट जस्ता कानुनी कागजातमा दोहोरो अर्थ नलाग्ने स्पष्ट प्रावधान हुनुपर्नेमा सो हुन नसकेको गुनासो आएको छ । यसतर्फ ध्यान दिनु जरुरी छ ।”
पछिल्लो समयमा आएर बैंक तथा वित्तीय संस्थाको कर्जामा भएको आक्रामक विस्तारका कारण ऋणयोग्य रकमको अभाव भएको राष्ट्र बैंकले बताउँदै आएको छ ।

निक्षेप र कर्जा विस्तारको असन्तुलन, कर्जामा लिने र निक्षेपमा दिने ब्याजबीचको फासला, धितो लिलामी प्रक्रिया तथा जमानीकर्ताको दायित्वको हद लगायत कतिपय विषयमा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवम् संसदीय समितिमा समेत चर्चा तथा बहस हुने गरेको राष्ट्र बैंकले बताएको छ ।