बैंकको दर्ता खारेज सम्मको कारबाही गर्दै राष्ट्र बैंक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बैंकको दर्ता खारेज सम्मको कारबाही गर्दै राष्ट्र बैंक



काठमाडौं -पछिल्ला दिनहरूमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमाथिको कारबाही र निगरानीमा अझ कडाइ गर्न थालेको छ ।
त्यसै क्रममा केही दिन पहिले राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थाहरूका लागि नयाँ नियम बनाउँदै त्यो अनुसार काम नगरे कारबाहीका लागि तयार रहन चेतावनी दिएको छ ।

‘शीघ्र कारबाही योजना’ नाम दिइएको नयाँ नियमावलीमा गल्ती गर्ने बैंकको दर्ता खारेज गर्नेसम्मका प्रावधानहरू राखिएका छन् । राष्ट्र बैंक स्रोतका अनुसार नियमावलीमा अति नै कडा प्रावधानहरू राखिएको र तत्कालै त्यो कार्यान्वयन गर्दा थप समस्या उत्पन्न हुनसक्ने देखिएकाले बैंकहरूलाई अहिले नै सूचना दिएर कात्तिक एक गतेदेखि मात्र लागू गरिनेछ । ‘बैंक तथा वित्तीय संस्थाको काम कारबाहीलाई पूर्ण रूपमा पारदर्शी र व्यवस्थित बनाउन यो नियमावली ल्याइएको हो । यो लागू भएपछि अहिले वित्तीय क्षेत्रमा देखापरेका धेरै समस्या स्वतः समाधान हुनेछन्’ राष्ट्र बैंक स्रोतले दाबी गर्‍यो ।

राष्ट्र बैंकका अधिकारीहरूले जुनसुकै बेला पनि बैंक तथा वित्तीय संस्थाको समग्र अवस्था निरीक्षण गर्ने र केही तलमाथि गरेको देखिएमा तत्काल कारबाही गर्ने प्रावधान भएकाले यसलाई ‘शीघ्र कारबाही योजना नाम दिइएको अधिकारीहरूले बताए । ‘नयाँ नियममा राष्ट्र बैंकबाट अनुगमन तथा निरीक्षणका लागि खटिने अधिकारीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई निक्षेप संकलन र कर्जा लागनीमा रोक, शाखा विस्तारमा रोक लगाउनेदेखि कुनै सञ्चालक वा सिंगो सञ्चालक समितिलाई बर्खास्त गर्ने र बैंक दर्ता खारेजीसम्मको अधिकार रहेको स्रोतले बतायो ।