बैंकहरूमा एकाएक थुप्रियो पैसा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बैंकहरूमा एकाएक थुप्रियो पैसा



पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलनमा सुधार भएको देखिएको छ। पछिल्लो एक हप्तामा वाणिज्य बैंकहरुमा मात्रै ११ अर्ब रुपैयाँ थपिएको हो।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार मंसिर ९ गतेसम्ममा ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा मंसिर १६ गते सम्म आइपुग्दा ४५ खर्ब ७३ अर्ब पुगेको छ।
चालू आर्थिक वर्षको सुरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो। वणिज्य बैंकहरुको यो तथ्याङ्कले तरलतामा सहज भएको देखाएको छ।

बैंकहरुको ब्याजदर वृद्धि हुँदा आर्थिक मन्दी नै गएको कारणले कर्जा प्रवाह नै कमी भएको समेत निजी क्षेत्रले बताएको छ। नेपाल उद्योग वणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अहिले ब्याजदर वृद्धिको कारणले नै अर्थतन्त्रमा समस्या पैदा भएको बताउँछन्।

उनले भने, ‘निजी क्षेत्रको लगानी संकुचित भई राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको छ।’

ब्याजदरको उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक असहजता, अन्तर्राष्ट्रियरुपमा आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिस्टिक्स र फ्रेट शुल्कमा समेत वृद्धि भएको छ । यसले गर्दा अनुमानित वित्तीय विवरण निर्धारण र चालू पुँजीको वास्तविक आवश्यक सीमा निर्धारणबीच तादात्म्य नमिल्ने र चालू पुँजीको अभावमा उद्योग सञ्चालनमै कठिनाइ उत्पन्न भएको व्यवसायीहरुको भनाइ छ।

पछिल्लो एक हप्तामा वणिज्य बैंकहरुको कर्जा प्रवाह भने एक हप्तामा १ अर्ब मात्रै बढेको छ। मंसिर ९ गते सम्ममा वणिज्य बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा मंसिर १६ गते सम्ममा ४२ खर्ब २३ अर्ब पुगेको छ।