बान्थोके दाई , मंगली भाउजू र भगवान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बान्थोके दाई , मंगली भाउजू र भगवान



हाम्रो गाममा बान्थोके भन्ने यौटा सार्की परिवार बस्छ ।त्यही परिवारको घरमुली हो बान्थोके दाइ। “बानेथोक देउराली” डाडा बाट बसाँई सरेर आएको भएर छोटकरीमा उ “बान्थोके” भएको हो ! सोझो स्वाभाव भएको बान्थोके दाइ हाम्रो गाउको एक्लो हली हो । बिहान उठेर हिलो कट्कटीएको जाँगे पटुवाको रस्सीले कसेर “बर्जु” हरुका घरतिर निस्कनु जदौ गर्नु र झुकेर निहुरमुन्टी लाग्नु उसको दैनिकी हो ।

अत्यन्तै रुखो बोली भएकी श्रीमती थिइन बान्थोके दाइ की ! मङ्गलवार जन्मेकी भएर उनको नाम “मंगली” रहेको हो रे ! तर मंगली भन्ने उनको “सराप्ने नाम” थियो । मलाई अझै सम्झना छ चौरमा गुन्द्रीको तानमा बसेर पराल उन्दै हतासो ठोक्दै गरेकी “बान्थोकेनी” लाई मैले मंगली भाउजू भनेर बोलाउदा नराम्रो सँग रिसाएकी थिइन ! साह्रै फोहोरा शब्द प्रयोग गर्दै “म जन्मदा हेर्न आका थ्यो र काँठा” मेरो न्वारन अर्चौ ए बाउन ! भनेर हकारेकी थिइन ..! मंगली भाउजू रिसाएको थाह पाएपछी मेरो सातो गएको थियो । पेखु तिर उकालो चढ्दै गरेको म पत्ताचोट ओरालो लागेको थिएँ कुसुण्डेको चौरबाट डुम्रीकोट तिर ।

हलललल काला गींजा देखाएर हास्ने मंगली भाउजू लगातार चिलीममा भुक्कड भरेर सल्काईरहन्थीन या सिगरेट तन्काईरहन्थीन । बान्थोके दाइ आडैमा बसेर पुलुपुलु मंगली भाउजूले सिगरेट सल्काएको हेरिरहन्थ्यो । चिलीम हो भने दुई तिन सनक तानेपछी बान्थोके लाई दिन्थीन मंगली तर सिगरेट हो भने आधा भन्दा निकै तल पुगेपछी बान्थोकेको पालो आउथ्यो । श्रीमती ले दिएको सिगरेट सनक्क तानेर धुवाँ उडाउथ्यो बान्थोके । त्यो समयमा उसको अनुहारमा गजप किसिमको खुसी छाउथ्यो र आँखामा बेग्लै चमक आउथ्यो ।

विष्टहरुलाई बाटोमा देख्दा चार हात छेउ तिर तर्केर बाटो छाड्नु लाई बान्थोके दाइ आफ्नो धर्म सम्झन्छ । विष्टहरुको आँगनको डिल लक्ष्मण रेखा सरह हो उसको लागी । अत्याबस्यक नपरी आगनमा पाईलो राख्दैन उ । आगन छेउछाउ काठका ठुटा या मुढा राखिएका छन् भने बाटो हिड्दै गर्दाको बान्थोके ले दुईचार फक्लेटा पार्दिन्छ । दाउरा ठुलो भए बल्दैन ! नबलेर विष्टनी हरुले धुँवामा आँसु चुहाउलान भन्ने कत्रो पिर छ उसलाई… । दाउरा चिर्दिएको मा उसलाई धन्यवाद सम्म कसैले भन्दैनन । तै पनि बाटो हिड्दा या अरुनै काममा हिड्दा पनि बाटोमा आफ्नो “बालीघरे विष्टको” जुनसुकै काम परेपनि खुरुक्क गर्नु उसको नियमित कर्म जस्तै हो ।

धानका बोरा मिल सम्म पुर्‍याउनु, रुखको घाँस झार्नु, अड्केको बाँसको टाँगो छुटाएर घाँस समेल्नु र घाँस को भारी गोठ सम्म ल्याउनु, भकारो सोहोर साहर पारेर सोत्तर ओच्छ्याउनु अनि साँझ भात खाएर घर फर्कनु उसका हिउदे काम हुन । बर्खामा खेत बारी र हलबाट फुर्सद हुँदैन तै पनि यी बाहिर ईतरका टिपन टापन काम उसकै भागमा पर्छन सधैँ ।

सबै विष्टहरुकोमा बान्थोकेको लागी अलग्गै खाना खाने थाल छुट्याईएका छन् । आफूले जोत्ने गोरुको भकारो माथि पट्टी छानाको भाटामा थाल घुसारेर सुरक्षित राख्छ उ ।कुच्चीएको आल्म्युनियमको थाल,उस्तै यौटा कचौरा र पानी खाने अंखोरा मा घुमिरहेछ बान्थोकेको दैनिकी । वर्ष भरी काम गर्छ बान्थोके र त मंगली बाली उठाउछे । त्यही बाली ले उनीहरूको गर्जो टार्नु पर्छ वर्ष भरीको लागी । अचेल भने बान्थोके “बाली”मा भन्दा “निमेक”मा बानी परेको छ रे ! आज काम गरेको आजै नगदै या जिन्सीमै तत्कालै ज्याला बुझ्नु लाई “निमेक” गर्नु भनिन्छ । “निमेकमा नाफा छ अव बालीमा काम गर्न सकिन्न जोतेको पैसै माग बुढा” भनेर मंगलीले नै सिकाएकी हुन । सगर्व सुनाउछ बान्थोके दाइ ।

भगवान् प्रति अगाध आस्था छ बान्थोके दाइ र मंगली भाउजू को । कहिले काँही कसैले यसरी बर्षै पिच्छे सन्तान नजन्माउन सल्लाह दियो भने कति सजिलै “भगवानले दिनुभयो हाम्ले त हात थापेको मात्र हो” भन्दिन्छन उनीहरू । मानौं भगवानले दिएका ती वर्षै पिच्छेका संतान उनीहरूका ठुला उपलब्धि हुन । कहिले काही भने आजीत हुदारहेछन क्यारे “क्यार्नु भौमानले दिएसी नाई भन्न नसकीनी हात थाप्नै पर्‍यो” भन्थे । भगवानले ती सन्तान जवरजस्ती उनलाई थमाईदिएका हुन या खुसी खुसी उनीहरूले हात थापेका हुन त्यो बुझ्न गाह्रो थियो मलाई त्यो बेलामा । अहिले भए कुरा बुझ्दोहुँ ।

समय वित्दै गयो । उनिहरुकी जेठी छोरी तेह्र वर्ष जति की थिई उजेली भन्ने । मनक्कै काली थिई केटी तै पनि नाम भने उजेली राखेकी थिइन मंगली भाउजूले । एक दिन अचानक उजेली हराई । पछि उजेली उसकै फुपुको घर तिर भएको थाह पाएपछी मंगली ले बाह्र वर्ष जतिकी उजेली की बैनी माईली लाई लिन पठाईछन । उजेली लाई त कुटुम्व ले बुहारी बनाएर राखीसकेका रहेछन् । दिदी लिन गएकी माईली पनि फर्केर आईन ..! कुटुम्मको आँखा परेपछी यस्तै हो । बढेको माल जिम्मा लाउनु त पर्थ्यो नै । बेलै मा गए ! ठिकै छ “भगवानको मर्जी यस्तै रैछ” क्यारम तनी …! हो यसै भनेर फेरी पनि चित्त बुझाए बान्थोके दाइ र मंगली भाउजूले । त्यो उनीहरूको लागी त्यत्ति वेखुशीको कुरा पनि थिएन ।

उमेर छउन्जेल वर्षै पिच्छे सुत्केरी हुन परेको सकस ले झोल्लीएकी छन् मंगली भाउजू । उनले लगालग ९वटा सन्तान जन्माएकी हुन अरे । दुइटा बच्चा च्यांदी खोलाले बगाएको हो मलाई थाह छ । त्यो बेला बान्थोके दाइ साह्रै निराश भएका थिए । धेरै समय सम्म हराएका छोराछोरी खोजेर हिंडे उनी । खै कसरी हो सानो भुन्टे लाई डोर्याउदै खेत तिर झरीछे रे काली । खोलो कत्रो छ भन्ने मेसो नपाएका ५ र ६ वर्षका काली र भुण्टे खोलो तर्न खोज्दा बगेको अनुमान सबै गाम्ले ले लगाए । ती केटकेटी बगेर हराउदा डेढ दुई वर्षको यौटा बच्चो काखमा भएकी मंगली भर्खर सुत्केरी भएकी थिइन क्यारे । दुइटा केटकेटी हराएको हराएई भए । बान्थोके दाइ ले पुलिस गुहारे । गल्याड• को बुटवल पावर हाउसले बनाएको आधीखोलाको ड्याम सम्मै खोजे सबै मिलेर । तर केट्केटीको नामो निसान भेटीएन …! बान्थोके ले आस मारे ।

“भगवानले यस्तै चाहेका रहेछन् कसो गरम त” भनेर चित्त बुझाए बान्थोके दाइ र मंगली भाउजू ले ।

म गाउमा हुँदा उनको सबैभन्दा ठुलो छोरो “बान्थोके साने” म जत्रै थियो । पछि उसले पनि बा को विंडो थाम्यो । विष्टहरुको बालीघरे हली बन्यो । म काठमाडौँबाट छुट्टीमा घर जाँदा “साने” ले माटो मुछ्ने गाह्रो लगाउने लगायतका घर बनाउने मिस्त्री काम सिकेको थियो । डकर्मी काम नपाउदा जोत्नु नत्र घर बनाउने काममा बिहानै निस्कनु उसका दैनिकी थिए ।

पछि बान्थोके सानेले मोबाइल पनि किनेछ । ओखलढुंगा तीरका मिठो बोल्ने केटी हरुको नम्बर कता बाट पाएछ । उनीहरू लाई फोन गर्ने रातभरि मिठा गफ गर्ने अनि बिहान आफ्नो मोबाइलमा भएको ब्यालेन्स त्यै केटीलाई ट्रान्सफर गर्दिने अचम्मको दोष्तीमा बानी परेको थियो साने ! पछि उसले आफ्नै साथी की श्रीमती लाई भगायो रे भन्ने कुरा सुनियो । त्यतीन्जेल बान्थोकेको घर बनिसकेको थिएन । कुसुण्डेको डाडो मुनिको सेपीलो बारीमा बान्थोकेको यौटा कटेरो थियो । बिचमा चुल्हो, चुल्हा माथि लामा लामा मासुका लाम्टा झुण्ड्याएर सुकुटी बनाएको र त्यै चुल्हाको ओरीपरी चार पाच वटा ओच्छ्यान .. । हो यत्ति थियो उनीहरूको सृष्टि ।

सानेले श्रीमती त ल्यायो तर राख्ने ठाँउ भएन । जसो तसो त्यो दिन टौवा मुनि सुतेर कटाएछ । यसै त सुहागरात उनीहरूको लागी नौलो कुरो थिएन तै पनि पुरानो लोग्नेको भन्दा सानेको दुखको भवसागर ठुलो मानेर होला तिन चार दिनमा उसकी दुलही पोईला गई । फेरी फेरी पनि सानेले बिहे त गर्‍यो तर कुनै पनि केटी हप्ता दिन उ सँग बसीन होला । यौटी फोनमा पट्टीएकी त राती नै उठेर हिडी भनेर हललल हास्थ्यो साने ..! उसले बिहेलाई कहिल्यै गम्भीरता पूर्वक लिएन ।

घर नभएसम्म दुलही अड्याउन सकिन्न साने … यौटा सानो घर बना ..! साहु नरहरी बाजेले दुलही अड्याउने जुक्ती सिकाएछन । ऋण चाईए दिम्ला केटा …घर त चाईन्च ….!! बुढा ले दिएको सल्लाह साने लाई गजपको लागेछ । साहु बुढाका दाजुभाइ कै बालीघरे थियो बान्थोके । अलीअली त ज्वानखोले हरुले पनि देलान । तिन घर बाट दश दश हजार ऋण लिएर बान्थोके साने घर बनाउन जुट्यो । घर बनेपछी त स्वास्नी कसो नअडीएली र ..! मनमनै मख्ख पर्‍यो साने ..! उ आफै डकर्मी थियो । काठ विष्ट हरुले दिए । बाँस मागेजती पायो । टिन लाई ऋण ज्वानखोले मास्टर बा ले दिए गारो लाई पुग्ने साहु जेठा कान्छा मिलेर दिए हेर्दा हेर्दै बान्थोके को घरमा टिनको छानो टल्क्यो । टिनको छानो हेरेर मंगली मख्ख परिन बान्थोके दाइ तुरुक्क रोयो ।

घर बनाएर सकीदा नसकीदा साने विमारी भयो । उसको अनुहार फुस्स फुलेर आयो । सुन्नीएर मोटाए जस्तो गाला थलथल भए । पेट सुन्निएर आयो । डुम्रीकोट बाट ईत्ती उकालो लाग्दा स्याँ स्याँ भएर उसको सास आरनको खलाँती झैँ हुन थाल्यो । पिसाब वेलामा नहुने खाएको उल्टी हुने भएपछि साने लाई अस्पताल लगीयो । हेल्थपोष्ट मा धुर्व डाक्टरले जाचे र ओखती दिए तर सेक विसेक केही लागेन । आजीत भएर साने लाई पोखरा लगे । गण्डकी मेडिकल कलेजमा पुगेपछी थाह भो सानेका दुवै मृगौलाले काम गर्न छोडेका रहेछन् । डाक्टरले तुरुन्तै डायलोसीस सुरु गर्नुपर्छ पैसा लिएर आउनु भनेपछी बान्थोके दाइ साने लाई लिएर घर गए । कति पटक डायलोसीस गराए थाह भएन तर त्यसको केही महिनामा सानेले यो संसार बाट बिदा लियो । बान्थोके दाइ र मंगली भाउजू खुब रोए पुत्र वियोग मा । फेरी एक पटक दैवले उनीहरुमाथी बज्रपात पार्यो । के गर्नु यस्तै लेख्या रैछ भनेर फेरी चित्त बुझाए उनीहरूले ।

अचेल धेरै समय भयो म गाउमा गएको छैन । पहिला पहिला भेट हुँदा बान्थोके दाइको म सँगको आशा भनेको त्यै “यौडा बत्तल लोक्कल रौसी” किन्न पुग्ने चालिस रुप्पे हुन्थ्यो र मंगली भाउजूको पाँच रुप्पे पर्ने देउराली या पाईलट चुरोट को बट्टा हुन्थ्यो । जतिवेला पनि खुसी भइरहने बान्थोके दाइ यत्रो बज्रपात पछि पनि त्यसरी नै मुस्कुराईरहेको होलान् की ? घरी घरी तुरुन्तै पुगेर भेट्न पाए हुन्थ्यो झैँ हुन्छ । मलको डोको र डोको माथि निमेक को पोको अनि काखमा दुधे बच्चो लिएर च्यांड•दी खोलाको किनारै किनार हास्दै हिँड्ने दुई जिउ की मंगली भाउजूको दैनीकी कति फेरीयो होला ? सम्झेर ल्याउदा छाती चरक्क हुन्छ ।

~दुर्गा पंगेनी ।