बार एसोसिएसनको मतगणना: घिमिरेको समूहको अग्रता - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बार एसोसिएसनको मतगणना: घिमिरेको समूहको अग्रता



नेपाल बार एसोसिएसनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूहको अग्रता कायमै रहेको छ।

गएरातिसम्म २५ केन्द्रको ३२०३ मत गणना भएको छ। जसमा अध्यक्षका उम्मेदवार घिमिरेले १९९० मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १००४ मत प्राप्त गरेका छन्।

बार एसोसिएसनका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार २५ केन्द्रको मतगणना सम्पन्न भएको छ। बुधबारसम्म ६ स्थानमा गणना भइरहेको थियो भने आजबाट आठ स्थानमा मतगणना गर्ने तयारी छ।

अहिलेसम्म घिमिरेले नेतृत्व गरेको समूहले नै अग्रता लिइरहेको छ। महासचिवमा अञ्जिता खनाल १७६५ मत पाएकी छन् भने अर्का उम्मेदवार केदारप्रसाद कोइरालाले ११५७ मत पाएका छन्।

त्यस्तै, कोषाध्यक्षमा भरतबहादुर राउतले १९२८ मत र जगतबहादुर कार्कीले १०६६ मत पाएका छन्।

मङ्गलबार बिहानदेखि मतगणना शुरु भएको थियो। बुधबार राति स्थगित गरिएको मतगणना आज बिहान ९ बजेदेखि पुनःमतगणना प्रारम्भ गरिने भएको छ। शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले बताइन्।

१९ चैतमा भएको बारको निर्वाचनमा ७४२९ जनाले मतदान गरेका थिए। बारमा अध्यक्षसहित २५ जनाको कार्यसमितिका रहने व्यवस्था छ।