बार्सिलोनालाई लाग्यो ठुलो धक्का - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बार्सिलोनालाई लाग्यो ठुलो धक्का



उपाधि होडमा रियल मड्रिडसँग अति कडा प्रतिस्पर्धामा रहेको बार्सिलोनालाई पुनः धक्का लागेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग बराबरीमा रोकियो ।

घरेलु मैदानमा भएको खेलमा इआगो आसपासको अन्तिम समयको गोलबाट सेल्टाले बार्सिलोनालाई २–२ को बराबरीमा रोकेको हो ।

२० औँ मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लियो । ५० औँ मिनेटमा फेडोर स्मोलोभले सेल्टाका लागि बराबरी गोल फर्काए ।

६७ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरि बार्सिलोनालाई पुनः अग्रता दिलाए । स्वारेजका दुवै गोलका लागि लियोनल मेस्सीले सहयोग गरेका हुन् ।

तर ८८ औँ मिनेटमा आसपासले गोल गरी बार्सिलोनालाई खेलमा जित निकाल्न दिएनन् । बराबरीबाट सेल्टाले अंक खोसेपछि बार्सिलोना शीर्ष स्थानमा गए पनि एक खेल बढी खेलेर रियल मड्रिड भन्दा एक अंक मात्रै अघि रहेको छ ।

आइतबार राति हुने खेलमा रियल मड्रिडले स्पानियोललाई पराजित गरेमा उसले दुई अंकको अग्रता कायम गर्ने छ । बार्सिलोनाको ३२ खेलबाट ६९ तथा रियल मड्रिडको ३१ खेलबाट ६८ अंक रहेको छ ।

मेस्सीले खेल जीवनको सात सयौँ गोल गर्नका लागि अब पनि कम्तिमा अर्को खेल पर्खिनु पर्ने भएको छ । उनले अर्जेन्टिना र बार्सिलोनाका लागि हालसम्म ६९९ गोल गरेका छन् । तर उनले बार्सिलोनाका लागि गोलका लागि सहयोगको संख्या २५० बनाएका छन् ।