आफ्नो स्वार्थ पुरा गर्न स्थानीय नेता उक्साउँदै बलायर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आफ्नो स्वार्थ पुरा गर्न स्थानीय नेता उक्साउँदै बलायर



काठमाडौं- बार्गेनिङ गरेर जिल्ला छोड्न तयार भएका नेपाली काँग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरको उक्साहटमा लागेर डोटीका केहि नेताहरूले गठबन्धन नगर्ने भन्दै पार्टीलाई दवाव दिन थालेका छन् । २ साता अघि पनि बलायरले गठबन्धन नगर्ने भन्दै विज्ञप्तिबाजी गर्न लगाएका थिए ।

आफूले टिकट नपाउने पक्का भएपछि बलायरले नेताहरूलाई उक्साउन थालेको आरोप छ । उनले बार्गेनिङमा जिल्ला छोडेको हल्ला डोटीमा मात्रै होइन कैलालीदेखि काठमाडौंसम्म फैलिएको छ । जिल्लाका कांग्रेस नेताहरू भने उनको उक्साहटमा लागेर बैठक बसिरहेका छन् ।

यसअघि गठबन्धनविरुद्ध विज्ञप्ति निकालेपछि सभापति देउवाले “के गरेको यो जात्रा ?” भनेपछि मथ्थर बनेका बलायर डोटी छोड्न तयार भएका थिए । अहिले फेरि काठमाडौंमा बसेर स्थानीय नेताहरूलाई उक्साउन थालेका छन् । देउबाले गाली गरेपछि कैलाली ४ बाट चुनाव लड्ने तयारी गरेका उनी टिकट चाहियो भन्दै नेताहरूलाई गुहारेका थिए । तर उनले भनेजस्तो भएन ।

हुन त उनलाई प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले समानुपातिकमा पार्ने बचन समेत दिएकी थिइन् । तर उनले पनि पर्न सकिनन्, तीन पटक चुनाव लड्दा एकपटक मात्र जितेका उनको समानुपातिकमा पर्ने उद्देश्य पुरा भने भएन ।

टिकट पाउने आशाले अहिले बलायरको बास नै बालुवाटार बनेको छ । जत्ति बालुवाटार गएपनि कैलाली ४ बाट सांसद बन्ने उनको सपना पनि चकनाचुर हुने भएको छ । उनले राजधानीबारे दिएको विवादित अभियक्तिका कारण बलायर त्यहाँ पनि चिप्लिएका छन् । कैलालीका नेताहरूले उनलाई टिकट नदिन उल्टै देउवामाथि दवाव दिएका छन् ।

कैलालीका एक नेताका अनुसार बलायरलाई कैलालीबाट टिकट नदिन भन्दै ठूलो दवाव बालुवाटार पुगेको थियो । बलायरको पृष्ठभूमि अत्यन्त विवादित भएको र राजधानीको विषयमा उनले दिएको अभिव्यक्तिले कैलालीबासीले भोट हाल्न नसक्ने भन्दै उनलाई टिकट नदिन बालुवाटारमा दवाव दिएको ती नेताले बताए । उनले कैलाली ४ बाट टिकट नपाउने पक्का भैसकेको छ । त्यहाँबाट टिकट नपाउने भएपछि उनी फेरि डोटी फर्किन चाहन्छन् । त्यसैले उनले त्यहाँका स्थानीय नेताहरूलाई उचालेर बुधबार विज्ञप्ति जारी गर्न लगाए ।

यसअघि पनि गठबन्धन नगर्ने भन्दै वक्तव्यवाजी गरेका बलायरले बालुवाटारको सहमतिमा डोटी छोड्न तयार बनेका थिए । डोटीमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेलाई दिन राजी भएका उनी अहिले फेरि बिच्किन थालेका छन्। पछिल्लो समय बालुवाटारसँग बलायरको भन्दा आलेको सम्बन्ध राम्रो छ ।

यस्तो परिस्थितिमा त्यहाँका स्थानीय समितिहरूलाई उचालेर बलायरले जिल्लामा गठबन्धनको भारी नलाद्न पार्टी सभापति देउवामाथि दवाव बढाउन खोजेको देखिन्छ । ‘बलायरले यस्तो किन गर्न लगाए, किन गर्दैछन सबैलाई थाहा छ, उनले आफ्नो फाइदाको लागि पार्टीलाई समेत परिचालन गर्न सक्छन,’स्थानीय एक नेताले भने ।

कैलालीबाट टिकट पाउन निकै मुस्किल भएको, पाएपनि चुनाव जित्न नसकिने निष्कर्ष निकाल्दै बलायरले सदरमूकाम सिलगढीमा जिल्लाका नौं वटै स्थानीय समितिको भेला राख्न लगाएका थिए । बलायरकै निर्देशनमा जिल्लामा एक्लै जित्न सकिने भन्दै गठबन्धनको भारी नलाद्न दबाव सिर्जना गरिएको छ।

प्रतिनिधिसभाको एक सीट रहेको डोटीमा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेलाई उम्मेदवार बनाउने चर्चा छ। यस्तै दुई प्रदेशसभा सीटमा पनि काँग्रेसलाई एउटामात्रै दिने पक्का जस्तै बनेको छ। त्यहाँ आलेले पाउने भएपछि बलायर कैलाली झरना खोजेको तर कैलाली आफ्नै भाषणले बिगारेकाले उनले अहिले जिल्ला कमिटिलाई उचालेर देउबामाथि दबाब बढाएका छन्।

उनीभन्दा फरक गुटका डोटीका एक नेताले बलायर बार्गेनिङ गर्न माहिर भएकाले बार्गेनिङकै लागि स्थानीय पार्टी कमिटिहरूलाई उचालेको बताउँछन्। उनले भने, ‘देउवासँग बार्गेनिङ गरेको हो कि प्रेम आलेसँग गरेको हो थाहा भएन तर यो बार्गेनिङ नै हो ।’ तर उनले दुबैतिर बार्गेनिङ गर्ने गरेको अर्का नेता बताउँछन् । उनले भने, ‘बलायर निकै चतुर नेता हुन्, जे पनि जानेका छन्, पार्टी कमिटिलाई पनि फाइदाको लागि मात्रै प्रयोग गर्छन । उनले त दुबैतिर बार्गेनिङ गरेर डोटी छोडेको हल्ला पनि चलेको थियो ।’

बलायरको दवावमा जारी गरिएको विज्ञप्ति अनुसार स्थानीय तह निर्वाचनमा केन्द्रको निर्णयको अवज्ञा गरी एक्लै लड्दा नौं पालिकामध्ये ७ मा बहुमतसहित जीत र एकमा उपाध्यक्ष जितेको कारण देखाउँदै डोटीको परिवेश हेरेर गठबन्धन नलाद्न भनिएको छ।

त्यतिमात्रै होइन विज्ञप्तिमा गठबन्धन लादिए आफूहरू चुनाव प्रचारप्रसारमा नजाने र मतदानमा पनि सहभागी नहुने चेतावनी समेत दिइएको छ। बलायरले काठमाडौंबाट उचाल्ने र स्थानीय रूपमा काँग्रेस केआइसिंह गाउँपालिकाका सभापति अर्जुन बलायरले संयोजन गरिरहेको नेताहरू बताउँछन् ।

बलायरले केही दिन पहिले नेपाली कांग्रेस डोटीका नेता सिताराम जोशीलाई राति ११ बजे फोन गरेर धम्कि दिएको विषयसमेत बाहिरिएको थियो। बलायर समूहकै दबाबमा स्पष्टीकरणसहितको फेसबुक स्टाटस लेखेका जोशीले १२ घण्टा नबित्दै पुन: स्टाटस डिलिट गरेका थिए।