२०२० को भ्रमण वर्षमा नेपाल आउँछु: अमेरिकी सांसद भण्डारी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

२०२० को भ्रमण वर्षमा नेपाल आउँछु: अमेरिकी सांसद भण्डारी



एटलान्टा- नेपाली मूलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य ह्यारी भण्डारीले भ्रमण वर्ष सन् २०२०को अवसरमा नेपालको भ्रमण गर्ने बताएका छन् ।

नेपाली मूलका अमेरिकी सांसद ह्यारीले नेपालमा लगानी र विकासका प्रशस्त सम्भावना रहेको बताउँदै आफूले त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए । नेपालमा जलविद्युत, पर्यटन, जडीबुटी उत्पादन, कृषिलगायत क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उनले बताए ।

आफ्नो जन्मथलो नेपालको पर्वत भएर अमेरिका बसेपनि आफू जन्मेको ठाउँको झनै बढी माया रहेको उनले बताए । छोटो समयमै अमेरिकाको तल्लो सदनको सांसद भएका ह्यारी राज्य सञ्चालन समितिको सदस्यसम्म पुगेका छन् ।

उनले जलजला गाउँपालिकामै विवाह भएकाले पनि जलजलामा पुग्दा आफूबाट केही न केही गर्ने आश्वासन दिए । पर्वतको जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध विस्तारका लागि त्यहाँ पुगेको जलजला यामबहादुर मल्ल (रामकृष्ण) नेतृत्वको टोलीसँगको अन्तरक्रियामा ह्यारी विशेष अतिथिका रूपमा सहभागी भएका हुन् ।

कार्यक्रममा भ्रमण टोलीका सदस्य एवं सामाजिक –विकास अनुसन्धानकर्ता राममणि थपलियाले नेपालमा साधना स्रोतको अभाव नेपाली अर्थतन्त्रको समस्या नभएको बताए । साधनस्रोत पर्याप्त भए पनि उचित व्यवस्थापन मुख्य समस्या रहेको थपलियाले बताए । नेपाली अर्थतन्त्रमा हरेक वर्ष जारी हुने बजेटको खर्च गर्ने क्षमता राज्यसँग नभएको बताउँदै जारी बजेटको सदुपयोग मात्र भए आर्थिक विकासले फड्को मार्न सुरु गर्ने उनले बताए ।

एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले त्यहाँका मेयरसँग त्यहाँको विकास निर्माण र जलजलाको विकास निर्माणको अवस्थाको बारेमा आदानप्रदान गर्दै भगिनी सम्बन्ध गाँस्ने तयारी भएको बताए ।

अध्यक्ष मल्लले सिटी अफ एटलान्टाका मेयर किसा लेन्स बतम्सलाई जलजला गाउँपालिकाको निमन्त्रणा पत्र प्रदान गरेको जानकारी दिए । निमन्त्रणापत्र स्वीकार गर्दै मेयर बतम्सले छिट्टै नेपाल आएर जलजलाको भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन् । ‘एटलान्टाका मेयरलाई नेपालको झन्डा उपहार प्रदान गर्दै जलजलाको भ्रमणका लागि आउन निमन्त्रणा पत्र प्रदान गरे, उहाँले छिट्टै नेपाल आएर जलजला गाउँपालिका घुम्ने प्रतिबद्धता जनाए’ अध्यक्ष मल्लले भने ।