३८ वर्ष पुरानो कीर्तिमान तोड्दै बार्सिलोना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

३८ वर्ष पुरानो कीर्तिमान तोड्दै बार्सिलोना



बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियामाथि संघर्षपूर्ण जित निकाल्दै नयाँ कीर्तिमान बनाएको हो ।

बार्सिलोना ला लिगाका पछिल्ला ३९ खेलमा अपराजित छ ।

यो कुनै पनि टिमले बार्सिलोनामा कायम गरेको सबैभन्दा लामो अपराजित यात्रा हो । गएको हप्ता लेगानेसलाई हराउँदै बार्सिलोनाले अपराजित यात्राको कीर्तिमानमा बराबरी गरेको थियो ।

यो हप्ता उसले कीर्तिमान आफ्नो नाममा लेखाएको हो । बार्सिलोना ला लिगामा यो सिजनका ३२ तथा गएको सिजनका पछिल्ला सात गरी लगातार ३९ खेलमा अपराजित छ ।

बार्सिलोनाले ला लिगामा लगातार ३९ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्ष अघि बनाएको कीर्तिमान तोडेको छ । रियल सोसिडाडले सन् १९७८–७९ र १९७९–८० को सिजनमा गरी लगातार ३८ खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

पाँच दिनअघि इटालियन क्लब रोमासँग पराजित भएर अप्र्रत्यासित रुपमा च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको बार्सिलोनाले घरेलु लिगमा भने जित दर्ता गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेज र स्यामुएल उमटिटीले गोल गरे ।

भ्यालेन्सियाका लागि पारिजोले एक गोल फर्काए । १५ औँ मिनेटमा फिलिप कोन्टिन्होको सहयोगमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ५१ औँ मिनेटमा उमटिटीले कोन्टिन्होको कर्नरमा गोल गरेका हुन् ।

८७ औँ मिनेटमा पारिजोले भ्यालेन्सियाका लागि एक गोल फर्काए । जितपछि बार्सिलोनाको लिगका ६ खेल बाँकी हुँदा ८२ अंक भएको छ । उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १४ अंकले अघि रहेको छ ।