मन्त्री नबन्ने वर्षमान पुनको घोषणा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मन्त्री नबन्ने वर्षमान पुनको घोषणा



काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री नबन्ने भएका छन् । आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ थियो । 

पुनलाई वर्तमान सत्ता गठबन्धनको सूत्रधारमध्ये एक मानिन्छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा पुनले दोस्राे तहका एमाले नेताहरूसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए । 

चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय भए । तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले भने, ‘तीनपटक मन्त्री भइसकेको छु । यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लाग्छु ।’

पुनले आफू मर्यादाक्रम नमिलेर वा ‘हेबिवेट’ मन्त्रालय नपाएका कारण सरकारबाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न सम्वद्ध सबैलाई आग्रह गरे । पहिलोपटक मन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलोपटकमै उपप्रधानसहित गृहमन्त्री भएको विषयलाई कारण बनाउँदै पुन सरकारमा जान अनिच्छुक भएका समाचार आएका थिए ।

‘धेरैवटा दल मिलेर सरकार बनेको छ । फरक पार्टीबाट मन्त्री भएका व्यक्तिसँग मर्यादा क्रममा तल वा माथि पर्ने भइयो भनेर सरकारमा जाने/नजाने हुँदैन’, पुनले भने, ‘यसपटक बाहिरै बसेर प्रधानमन्त्रीलाई सहयोग गर्छु, पार्टी सुदृढीकरणको काम पनि गर्छु भनेर हो ।’ 

राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । आफ्ना अध्यक्षको नेतृत्वमा नयाँ सरकार बनेपछि जनमानसमा उत्साह आएको दाबी उनको थियो । 

उनले विदेशबाट आउने नेपालीले व्यक्तिगत प्रयोजनका लागि ल्याउने मोबाइल फोनमा लगाइएको प्रतिबन्ध फुकुवा गरेर सरकारले जनपक्षीय कामको थालनी गरिसकेको बताए ।

फरक प्रसङ्गमा पुनले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको मुलुकले कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा परिपक्वता र कुशलता प्रदर्शन गर्नुपर्ने बताए । सरकार र आफ्नो दलले दुई छिमेकी भारत र चीन तथा अमेरिकासहित सबै मित्र राष्ट्रसँग समानता र सहअस्तित्वका आधारमा बराबरीको सम्बन्ध राख्ने विषयलाई सधैं केन्द्रमा राख्ने उनको भनाइ थियो ।

‘कहिले कता र कहिले कता ढल्किने गर्दा कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुन्छ । हामी कतै ढल्किने भन्दा पनि नेपालतिर ढल्किनुपर्छ’, पुनले भने, ‘छिमेकी र अरु अन्तर्राष्ट्रिय मित्रहरुका जायज र स्वभाविक चासोको सम्बोधन गर्नुपर्छ । सबैसँग सहयोग र सहकार्य गरेर जानुपर्छ भन्ने नै सरकार र हाम्रो दलको परराष्ट्र नीति सञ्चालनको आधार हो ।’