वर्षमान पुनले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वर्षमान पुनले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने



काठमाडौं : राष्ट्रपति निर्वाचनमा दुईजना संघीय सांसद् मतदान गर्नबाट छुट्ने भएका छन् । सांसदद्वय चन्द्र भण्डारी र वर्षमान पुन राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट छुट्ने भएका हुन् । नेपाली कांग्रेसका सांसद् भण्डारी र माओवादी केन्द्रका सांसद् पुन विदेशमा उपचाररत छन् । भण्डारी भारतमा र पुन चीनमा उपचारत छन् ।

गत फागुन ४ मा आगलागीमा परी घाइते भएका भण्डारीको अहिले मुम्वइस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै जण्डिसका कारण बिरामी परेका पुनको चीनको बेइजिङस्थित एक अस्पतालमा उपचार भइरहेको छ । भोलि राष्ट्रपति निर्वाचन तोकिएकाले दुवै सांसद् उपस्थित हुने सम्भावना छैन ।

संघीय संसद्का २७५ सांसद्‍मध्ये २७० जनाले मात्रै मतदान गर्नेछन् । सांसद्मा निर्वाचित भएपनि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् । यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद् पद खारेज भएको छ । जनता समाजवादी पार्टीकी सांसद् सहनाज रहमानको फागुन १३ गते निधन भएको छ।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी कूल २७५ जना सांसद छन् । राष्ट्रिय सभामा ५९ जना सांसद् छन् । संघीय संसदमा ३३४ र प्रदेश सभाका ५५० जना गरी ८८१ जना सांसदले राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्न पाउनेछन् ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधि सभा तथा राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को ३३१ र सातै प्रदेशका प्रदेश सभा सदस्य ५५० कायम छ ।

आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ ।

राष्ट्रपतिको २०७४ सालमा भएको निर्वाचनमा संघीय संसद्का ३२६ र प्रदेश सभा सदस्य ५३६ जनाले मतदान गरेका थिए । निर्वाचनमा विद्यादेवी भण्डारीले ३९ हजार २७५ र कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरेका थिए । पहिलो चरणमा नै बहुमत प्राप्त गरी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।