नेपाल आएलगत्तै वर्षमानले भने: सहमतिमै म महासचिव बन्दैछु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल आएलगत्तै वर्षमानले भने: सहमतिमै म महासचिव बन्दैछु



काठमाडौँ- लामो उपचारपछि नेपाल फर्किएका माओवादी नेता वर्षमान पुनले सहमतिमा नै पार्टीको महासचिव आफू बन्ने दाबी गरेका छन् । उनले महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका छन् ।

यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । उनले सहमतिमै नेतृत्व छानिने र आफू महासचिव बन्ने दाबी समेत गरेका छन् ।

जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त्यसपछि चीनमा उपचार गरेर पुन सोमबार काठमाडौँ फर्किएका छन् । स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वमन्त्री पुनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धतासमेत जनाए ।

केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनले बताए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनले बताए । तर, सकेसम्म सहमतिबाटै महासचिव छानिने उनले बताए ।

आफ्नो उपचारमा पार्टीले सहयोग गरेको भन्दै उनले धन्यवाद दिए । बैंककबाट चीनमा उपचार गर्न लगेको आफूले चीनकै अस्पतालमा पुगेपछि बल्ल थाहा पाएको बताउँदै उनले पुनर्जीवन पाएको बताए । पछिल्लो राजनीतिक घटनाबारे आफू अपडेट हुन बाँकी रहेको बताउँदै माओवादी नेता पुनले गठबन्धन सरकार संविधानको रक्षाका लागि स्थापित भएको बताए ।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् । नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।