बालुवाटारमा ओली-प्रचण्डको निणार्यक वार्ता सुरु: वार्तामा थपिए नयाँ सदस्य - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बालुवाटारमा ओली-प्रचण्डको निणार्यक वार्ता सुरु: वार्तामा थपिए नयाँ सदस्य



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किएको विवादले उग्र रुप लिएपछि पार्टी बिभाजनउन्मुख भएको छ । यसलाई समाधान गर्ने अन्तिम प्रयासस्वरूप अहिले बालुवाटारमा नेताहरूबीच वार्ता सुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुन सुरू भएको हो । ओलीसँगको वार्ता अघि प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिसँग भटसकेलगत्तै प्रचण्ड बालुवाटार छिरेका हुन् ।

उनीहरुसँगै दुवै पक्षबाट अरु चार जना दोस्रो तहका नेताहरुपनि साक्षीका रुपमा सहभागी छन् । साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डपक्षबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी रहेका छन् ।

गत शुक्रबार अध्यक्ष ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने र त्यसो गर्दा पार्टी फुटे फुटोस् भन्ने अभिव्यक्ति दिएका थिए ।

उनले पार्टी एक हुने अवस्था नरहेकाले बरु प्रचण्डलाई पनि माधव नेपाल समूहमा जाने या आफ्नो कित्तामा आउने निर्णय गर्न आग्रह गरेका थिए । तर प्रचण्डले पार्टी फुटाउने भन्दा पनि जुटाउनेतर्फ लाग्नुपर्ने भन्दै संवादलाई अघि बढाउन जोड दिएका थिए ।